काठमाडौं । सरकारले रेल सेवा सञ्चालनका लागि आवश्यक चालक (लोको पाइलट) को सूची तयार गर्न आवेदन माग गरेको छ । नेपाल रेल्वे बोर्डले नेपाली नागरिकबाट दक्ष र योग्य रेल चालकको विवरण संकलन गर्न ३५ दिनको समय दिएर आवेदन आह्वान गरेको हो ।
बोर्डले रेल सेवा सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित योग्य, इमानदार र जिम्मेवार चालकको सूची तयार गर्न लागेको जनाएको छ ।
बोर्डका अनुसार यो प्रक्रिया नयाँ नियुक्तिका लागि नभई आवश्यकताअनुसार परिचालन गर्न सकिने रेल चालकको सूची तयार गर्ने प्रयोजनका लागि हो । इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।
सूचीमा समावेश हुन चाहने आवेदकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र मान्यताप्राप्त संस्थाबाट जारी रेल चालकको अनुमतिपत्र पेस गर्नुपर्नेछ । यसैगरी रेल सञ्चालनसम्बन्धी अनुभव र तालिम लिएको भए त्यसका प्रमाणपत्रसमेत बुझाउनुपर्ने बोर्डले जनाएको छ ।
बोर्डले आवेदन पेस गर्ने अन्तिम मिति आगामी मंसिर २१ गते तोकेको छ । इच्छुक नेपाली नागरिकले नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित दरखास्त पेस गर्न सक्नेछन् ।
रेल चालकको विवरण संकलनमार्फत आवश्यक जनशक्तिको अभिलेख तयार गर्ने र भविष्यमा रेल सेवा सञ्चालन तथा व्यवस्थापनका क्रममा आवश्यक चालक उपलब्ध गराउने बोर्डको तयारी छ ।
