काठमाडौं: आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ खर्ब ७७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको योगदान ४.२० प्रतिशत रहने देखिएको छ, जुन अघिल्लो वर्षको ४.२५ प्रतिशतको संशोधित अनुमानभन्दा कम हो।
प्रतिवेदनअनुसार कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत, उद्योगको १०.०७ प्रतिशत र सेवा क्षेत्रको ५८.४१ प्रतिशत रहने अनुमान छ। समीक्षा वर्षमा कर्णालीमा भित्रिने बाह्य पर्यटकको संख्या २७.६८ प्रतिशतले घटेको छ। यद्यपि, सेवा क्षेत्रमा प्रवाह भएको कर्जा भने अघिल्लो वर्षको तुलनामा ८.३४ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये ८५.२१ प्रतिशत सेवा क्षेत्रमा गएको छ।
कृषि क्षेत्रमा क्षेत्रफल बढे पनि समग्र उत्पादन भने ०.६५ प्रतिशतले घटेको छ। असार मसान्तसम्मको तथ्यांकअनुसार धानबालीले ढाकेको क्षेत्रफल २.९४ प्रतिशतले घटेको छ भने मकै, गहुँ र कोदोको क्षेत्रफलमा सामान्य वृद्धि भएको छ। प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ३०.९८ प्रतिशत मात्र रहेको छ। यस अवधिमा कर्णालीबाट वैदेशिक रोजगारीका लागि ३० हजार चार सय ९० जनाले श्रम स्वीकृति लिएका छन्।
राष्ट्र बैंकले कर्णालीको अर्थतन्त्रमा शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको पहुँच विस्तार गर्नु मुख्य चुनौती रहेको औंल्याएको छ। साथै, जडीबुटीको प्रशोधन, कृषि प्रणालीको आधुनिकीकरण र निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न नसक्नुले पनि प्रदेशको आर्थिक सुधारमा बाधा पुगेको प्रतिवेदनमा उल्लेख छ।
