काठमाडौं: तिहार नजिकिँदै गर्दा नेपाली फूल किसान र व्यवसायीहरू अवैध आयात र प्लास्टिकका मालाको बढ्दो कारोबारलाई लिएर चिन्तित बनेका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्षको तिहारमा करिब ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ। यसमा माला र सजावटका फूलको बिक्री समावेश छ।
एसोसिएसनका अनुसार यस वर्ष ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ। जसमा ४५ लाख सयपत्री, ६ लाख मखमली र २० हजार गोदावरी माला रहेका छन्। सयपत्री फूलको खेतीमा असोज महिनाको वर्षा र बाढीका कारण केही क्षति पुगे पनि आन्तरिक उत्पादनले अधिकांश माग धान्ने दाबी व्यवसायीको छ। हाल देशभर २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ।
मखमली फूलमा भने नेपाल आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको छ। यस वर्ष ६ लाख मखमली मालामध्ये ४ लाख आन्तरिक बजारमा र २ लाख विदेशमा निर्यात हुने अनुमान छ। यसका अतिरिक्त सजावटका लागि प्रयोग हुने ३५ लाख सयपत्रीका बोट र ८ लाख गोदावरीका गमलाको कारोबारबाट १६ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।
पुष्प व्यवसायी बालकृष्ण शर्माका अनुसार राज्य संयन्त्रको उदासीनताका कारण स्वदेशी पुँजी विदेशी बजारमा पुगिरहेको छ। नेपालमा प्लास्टिकका फूल र मालाको आयात तथा बिक्रीमा पूर्ण प्रतिबन्ध भए पनि बजारमा यस्ता सामग्री छ्यापछ्याप्ती पाइनुले किसानलाई थप मार परेको छ। ललितपुरका नर्सरी व्यवसायी शाहिल शाक्यले सरकारी अनुगमन फितलो हुँदा प्रतिबन्धित सामग्रीको खुलेआम व्यापार भइरहेको बताएका छन्।
खुला सिमानाको फाइदा उठाउँदै भारतबाट भन्सार छलेर ल्याइने सस्तो फूलले स्वदेशी किसानको उत्पादन बिक्री नहुने डर सिर्जना गरेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले उपभोक्तालाई स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गरेका छन्। उनले भने, ‘स्वदेशी उत्पादनको प्रयोगले नेपाली कृषकलाई प्रत्यक्ष सहयोग पुग्नुका साथै आयात प्रतिस्थापन र आत्मनिर्भरतालाई प्रोत्साहन मिल्छ।’
