काठमाडौं । औषधिको बिक्री उच्च हुँदा म्याग्नस फर्माले एक वर्षमै १ अर्ब ५४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा २३ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि सन् २०२४ मा कम्पनीको व्यापार १ अर्ब १७ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षमा मधुमेह नियन्त्रणमा प्रयोग हुने औषधि, पाचन प्रणालीसम्बन्धी औषधि, अल्सरविरुद्धका औषधि, नाकमा प्रयोग हुने स्प्रे तथा दुखाइ र ज्वरो नियन्त्रण गर्ने औषधिको बिक्री बढ्दा व्यापार विस्तार भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालन मार्जिन गत आवमा १८ प्रतिशत रहेको छ । यद्यपि, कम्पनीको ग्रस क्यास एक्रुअल भने घटेको छ । सन् २०२५ मा १६ करोड ३० लाख रुपैयाँ रहेको ग्रस क्यास एक्रुअल सन् २०२६ मा घटेर १५ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको पुँजीगत संरचना मध्यम स्तरको रहेको छ । सन् २०२५ मा १.४१ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा सामान्य बढेर १.४४ गुणा पुगेको छ । ट्यान्जिबल नेटवर्थ र प्रोफिट एक्रुअलको अनुपातमा सुधार भएकाले कम्पनीको गियरिङ अनुपात स्थिर रहेको जनाइएको छ ।
कम्पनीको ब्याज भुक्तानी क्षमता भने कमजोर भएको देखिएको छ । सन् २०२५ मा ७.६१ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा घटेर २.९१ गुणा पुगेको छ । त्यस्तै, कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात ९.७४ गुणा रहेको छ ।
म्याग्नस फर्माले २०० भन्दा बढी थोक वितरकको सञ्जालमार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । विभिन्न चिकित्सकीय क्षेत्रमा उत्पादन विस्तार गर्दै लगेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन रोगको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्दै आएको छ ।
कम्पनीले हाल २९ वटा श्रेणीअन्तर्गत १९० प्रकारका औषधि उत्पादन गर्दै आएको छ । बढ्दो उत्पादन पोर्टफोलियो र वितरण सञ्जालले कम्पनीको व्यावसायिक गतिविधि विस्तारमा सहयोग पुर्याएको जनाइएको छ ।
सन् २००७ मा स्थापना भएको म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्के हुन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
