एजेन्सी । स्मार्टफोन निर्माता कम्पनी भिभोले ८ हजार एमएएच क्षमताको विशाल ब्याट्री र फाइभजी प्रविधिसहित नयाँ स्मार्टफोन ‘भिभो वाई३२ फाइभजी’ सार्वजनिक गरेको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको यो फोन यसअघिको वाई३२ फोरजी मोडलको नयाँ संस्करण हो।
भिभो वाई३२ फाइभजीमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.८७ इन्चको एलसीडी डिस्प्ले दिइएको छ। फोनमा क्वालकमको स्न्यापड्रागन ४ जेन २ प्रोसेसर प्रयोग गरिएको छ। यसअघिको फोरजी संस्करणमा भने युनिसक टी७३०० चिपसेट थियो।
यो स्मार्टफोन ६ जीबी र्याम र १२८ जीबी आन्तरिक भण्डारण क्षमताको एउटै संस्करणमा उपलब्ध हुनेछ। माइक्रोएसडी कार्ड प्रयोग गरेर यसको भण्डारण क्षमता २ टिबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।
फोनको मुख्य आकर्षण ८ हजार एमएएच क्षमताको ब्याट्री हो। यसमा ४४ वाटको द्रुत तारयुक्त चार्जिङ सुविधा उपलब्ध छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा फोनबाट ३७ घण्टासम्म स्थानीय भिडियो हेर्न सकिन्छ।
यसमा रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ। यसबाट अन्य विद्युतीय उपकरण तथा सामग्री चार्ज गर्न सकिन्छ। ठूलो ब्याट्रीका कारण लामो समयसम्म फोन प्रयोग गर्न चाहने ग्राहकलाई यो उपयोगी हुने कम्पनीको अपेक्षा छ।
फोटोग्राफीका लागि फोनको पछाडि दुईवटा क्यामेरा राखिएको छ। जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको सहायक सेन्सर छ। सेल्फी तथा भिडियो कलका लागि अगाडिपट्टि ८ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ।
कनेक्टिभिटीका लागि फोनमा वाइफाइ ५ र डुअल सिम सुविधा दिइएको छ। धुलो तथा पानीबाट सुरक्षा प्रदान गर्न यसमा आईपी६८ र आईपी६९ रेटिङ रहेको कम्पनीले जनाएको छ।
भिभोले यो स्मार्टफोन दुई फरक रङमा उपलब्ध गराउने तयारी गरेको छ। तर, कम्पनीले यसको आधिकारिक मूल्य र बिक्री सुरु हुने मिति भने सार्वजनिक गरेको छैन।
ठूलो क्षमताको ब्याट्री, द्रुत चार्जिङ, फाइभजी कनेक्टिभिटी र नयाँ प्रोसेसरका कारण भिभो वाई३२ फाइभजीले बजेट तथा प्रारम्भिक तहका स्मार्टफोन बजारमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
