काठमाडौं। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर विभिन्न टीका–टिप्पणी र विवाद सार्वजनिक भइरहेका बेला निर्माण पक्षले चलचित्रको पूर्ण कथावस्तु नबुझी धारणा नबनाउन आग्रह गरेको छ।
निर्माण पक्षले ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभई समकालीन नेपाली समाजको कथावस्तुमा निर्माण गरिएको स्पष्ट पारेको छ। चलचित्रमा महाभारतबाट एउटा सानो विम्ब मात्र ग्रहण गरिएको र केही पात्रका नाम कथाको सन्दर्भमा प्रयोग गरिएको उसको भनाइ छ।
चलचित्रमा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका नरहेको पनि निर्माण पक्षले जनाएको छ। केही गीत, दृश्य वा प्रचार सामग्रीका आधारमा मात्र चलचित्रको समग्र विषयवस्तु र प्रस्तुतिबारे निष्कर्ष निकाल्नु उचित नहुने उसको तर्क छ।
निर्माण पक्षले चलचित्र प्रदर्शनमा आएपछि पूर्ण कथावस्तु र प्रस्तुति हेरेर मात्र धारणा बनाउन दर्शक, शुभचिन्तक तथा सरोकारवालालाई आग्रह गरेको छ।
