काठमाडौं । बतास ट्रयाक्टरको व्यापार सन् २०२६ मा २० प्रतिशतले घटेर ४८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले सन् २०२५ मा ६० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा २६ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ७६ करोड २० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको व्यापारमा क्याट ब्रान्डका स्काभेटरको योगदान सबैभन्दा बढी रहेको छ । कुल व्यापारमध्ये ७९ प्रतिशत क्याट ब्रान्डका स्काभेटरबाट भएको कम्पनीले जनाएको छ । त्यसमध्ये एउटै मोडलको स्काभेटरबाट मात्रै ५८ प्रतिशत व्यापार भएको छ ।
कम्पनीको पुँजीगत संरचना उच्च ऋणमा निर्भर रहेको छ । कम्पनीको गियरिङ अनुपात ३ गुणा र कुल ऋण तथा सञ्चालन मार्जिनको अनुपात १८ गुणा रहेको छ ।
सन् २०१६ मा दर्ता भएको बतास ट्रयाक्टर नेपालका लागि क्याटरपिलर निर्माण उपकरण, गोदरेज इक्विपमेन्ट र प्रोपेल ब्रान्डका सामग्रीको आधिकारिक वितरक हो ।
कम्पनीले सन् २०१७ देखि क्याट सामग्रीको कारोबार सुरु गरेको थियो । त्यस्तै, गोदरेज इक्विपमेन्टको कारोबार सन् २०१८ र प्रोपेल उत्पादनको कारोबार सन् २०२० देखि सुरु गरेको थियो ।
कम्पनीमा पाँच जनाको स्वामित्व रहेको छ । बतास परिवारको कम्पनीमा ६७ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका प्रमुख स्वामित्वकर्तामध्ये आनन्दराज बतास र शान्तराज बतास रहेका छन् ।
बतास अर्गनाइजेशनद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ९ करोड ५० लाख रुपैयाँको कर्जा मूल्यांकन गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ६९ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।
