एजेन्सी । प्रविधि कम्पनी वानप्लसले उच्च कार्यक्षमतायुक्त स्मार्टफोन शृङ्खलाअन्तर्गत नयाँ ‘वानप्लस टर्बो ७’ आगामी डिसेम्बरमा चीनमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामरा र क्वालकमको नयाँ स्न्यापड्रागन ८ जेन ६ चिपसेट रहने अनुमान गरिएको छ।
चिनियाँ प्रविधि टिप्स्टर ‘स्मार्ट पिकाचु’का अनुसार टर्बो ७ स्न्यापड्रागन ८ जेन ६ चिपसेट प्रयोग गर्ने सुरुवाती स्मार्टफोनमध्ये एक हुन सक्छ। यो गत जनवरीमा सार्वजनिक भएको वानप्लस टर्बो ६ को उत्तराधिकारीका रूपमा बजारमा आउन लागेको हो।
मोबाइल गेमर तथा उच्च कार्यक्षमता चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार पारिएको यस फोनमा २०० मेगापिक्सेलको मुख्य पछाडिको क्यामरा र आकर्षक सिसायुक्त पछिल्लो भाग रहने चर्चा छ। यद्यपि, यसमा पेरिस्कोप टेलिफोटो लेन्स नहुन सक्ने भएकाले टाढाका दृश्य खिच्ने जुम क्षमतामा सीमितता रहन सक्ने अनुमान गरिएको छ।
प्रदर्शन क्षमतातर्फ चीनमा सार्वजनिक हुने संस्करणमा अधिकतम १८५ हर्जको रिफ्रेस रेट भएको पर्दा रहने बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा आउने संस्करणमा भने १६५ हर्जको रिफ्रेस रेट हुन सक्ने चर्चा छ। कम्पनीले विश्व बजारमा यही फोनलाई ‘वानप्लस १६आर’ नामबाट सार्वजनिक गर्न सक्ने अनुमानसमेत गरिएको छ।
यसअघि अर्का चिनियाँ टिप्स्टर ‘डिजिटल च्याट स्टेसन’ले सार्वजनिक गरेको विवरणमा वानप्लस टर्बो ७ प्रोमा ६.७८ इन्चको पर्दा, १८५ हर्ज रिफ्रेस रेट, २०० मेगापिक्सेलको क्यामरा र कम्तीमा नौ हजार एमएएच क्षमताको ब्याट्री रहने उल्लेख थियो।
तर, यी विशेषता सामान्य टर्बो ७ मोडलमा रहने हुन् वा छुट्टै प्रो संस्करणमा उपलब्ध हुने हुन् भन्ने स्पष्ट भइसकेको छैन।
बजारमा आएपछि वानप्लस टर्बो ७ ले आईकुको सम्भावित जेड१२ टर्बोसँग प्रतिस्पर्धा गर्ने अनुमान छ। आईकुको उक्त स्मार्टफोनमा पनि स्न्यापड्रागन ८ जेन ६ चिपसेट, करिब १० हजार एमएएच क्षमताको ब्याट्री र आन्तरिक शीतलन पङ्खा रहने विषयमा परीक्षण भइरहेको चर्चा छ।
वानप्लसले क्यामरा र पर्दाको प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ। तर कम्पनीले टर्बो ७ को आधिकारिक सार्वजनिक मिति, पूर्ण प्राविधिक विवरण र मूल्यबारे अहिलेसम्म जानकारी दिएको छैन।
