काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड चेरीले नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यू’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आधुनिक प्रविधि, सुरक्षा र आरामदायी सुविधासहितको नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार चेरी क्यूमा ४१.२ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी परीक्षण मापदण्डअनुसार ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
गाडीमा रियर ह्विल ड्राइभ प्रणालीसहितको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर राखिएको छ। उक्त मोटरले अधिकतम ९० किलोवाट शक्ति र ११५ न्युटन मिटर टर्क उत्पादन गर्छ। फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
चेरी क्यूको लम्बाइ ४ हजार १९५ मिलिमिटर, चौडाइ १ हजार ८११ मिलिमिटर र उचाइ १ हजार ५६८ मिलिमिटर छ। यसको ह्विलबेस २ हजार ७०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर रहेको छ। २१ डिग्री अप्रोच एंगल र २६ डिग्री डिपार्चर एंगलले नेपाली सडकमा यसको प्रयोगलाई सहज बनाउने कम्पनीको दाबी छ।
भण्डारण सुविधातर्फ गाडीमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज र ३७५ लिटरको पछाडिको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा बुट स्पेस १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिङ्क सस्पेन्सन प्रणाली प्रयोग गरिएको छ।
सुरक्षाका लागि चेरी क्यूमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिल असिस्ट सुविधा राखिएको छ। त्यस्तै, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता चालक सहायता प्रणाली पनि उपलब्ध छन्।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक गौरव शारडाले चेरी क्यूको सार्वजनिकरणले नेपालमा विश्वस्तरीय सवारी प्रविधि र स्मार्ट मोबिलिटी समाधान भित्र्याउने कम्पनीको प्रतिबद्धता देखाएको बताए। उनका अनुसार सुरक्षा, आराम, स्मार्ट पार्किङ र दैनिक प्रयोगको व्यावहारिकतालाई ध्यानमा राखेर गाडी तयार गरिएको छ।
चेरीले विश्वका १३० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। कम्पनीका अनुसार विश्वभर उसका दुई करोडभन्दा बढी प्रयोगकर्ता छन्। सन् २००३ देखि लगातार यात्रुवाहक सवारीसाधन निर्यातमा अग्रणी रहँदै आएको कम्पनीले जनाएको छ।
नेपालमा चेरीको बजार विस्तार गर्ने क्रममा पायोनियर मोटो कर्पले देशभर शोरुम तथा ग्राहक सेवा सञ्जाल विस्तार गरिरहेको छ। ग्राहकले चेरी क्यू प्रिमियमलाई काठमाडौंको थापाथलीस्थित शोरुमसहित बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडका शोरुममा अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ।
नयाँ विद्युतीय क्रसओभर सार्वजनिक भएसँगै नेपाली बजारमा विद्युतीय सवारीको प्रतिस्पर्धामा चेरीले आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्य राखेको छ।
