पर्सा। सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको छ।
टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ।
सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिए। उनका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
यो सेवाको सुरुवातसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। अब नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन्। सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड उपलब्ध गराएका छन्।
हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठी पत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस), र हुलाक बचत बैंकसम्बन्धी सेवाहरू मात्रै गर्दै आएको थियो। त्यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजातहरू हुलाकमार्फत ढुवानी र वितरण गर्ने काम पनि हुँदै आएको छ।
विभागले हुलाक वस्तु तथा पार्सलहरू कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको जनाएको छ।
