एजेन्सी । अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आउँदा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले एकै दिन १५ अर्ब १० करोड अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन्।
ब्लूमबर्गका अनुसार अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले बलियो नतिजा हासिल गरेपछि प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएको हो। यससँगै ह्वाङ ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको नवौँ स्थानबाट १३औँ स्थानमा झरेका छन्।
सेयर बजारको गिरावटबाट अन्य शीर्ष प्रविधि धनाढ्य पनि प्रभावित भएका छन्। टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले एकै दिन ७९ अर्ब ७० करोड डलर गुमाएका छन् भने ओराकलका संस्थापक ल्यारी एलिसनको सम्पत्ति १० अर्ब १० करोड डलरले घटेको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा हुने लगानीको भविष्यलाई लिएर अनिश्चितता बढेपछि अमेरिकी प्रविधि बजारमा ठूलो गिरावट आएको हो। नोभेम्बर ५ मा नास्डक १०० सूचकको बजार पुँजीकरणबाट एकै दिन २५ खर्ब अमेरिकी डलर घटेको छ।
प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डक कम्पोजिट सूचक बिहीबार ५.५ प्रतिशतले ओरालो लागेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ अप्रिलमा भन्सार महसुल घोषणा गरेयता बजारमा आएको यो सबैभन्दा ठूलो एकदिने गिरावट हो।
यसको प्रत्यक्ष असर प्रमुख चिप निर्माता कम्पनीहरूमा देखिएको छ। बिहीबारको कारोबारमा एनभिडियाको सेयर मूल्य ९ प्रतिशत र एएमडीको १७ प्रतिशतले घटेको थियो। यसै साताको सुरुवातमा एनभिडिया ५०.२ खर्ब डलर बजार पुँजीकरणसहित एप्पललाई पछि पार्दै पुनः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो।
मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको बलियो प्रदर्शनपछि नयाँ डेटा सेन्टर निर्माणमा अवरोध आउन सक्ने चिन्ता लगानीकर्तामा बढेको छ। स्थानीय विरोध र नियामक निकायको कडा निगरानीका कारण डेटा सेन्टर निर्माण सुस्त हुन सक्ने उनीहरूको आकलन छ। टेक्सससहित विभिन्न राज्यका नवनिर्वाचित डेमोक्रेटिक गभर्नरहरूले नयाँ डेटा सेन्टर विकासमा तत्काल रोक लगाउन माग गरेका छन्।
विश्लेषकहरूका अनुसार एआई क्षेत्र अब कम्पनीहरूको सम्भावित वृद्धिका आधारमा मात्र मूल्याङ्कन हुने अवस्थामा छैन। त्यसका लागि आवश्यक पूर्वाधार निर्माण, सञ्चालन लागत र लगानीबाट प्राप्त हुने प्रतिफलसमेत बजार मूल्याङ्कनका प्रमुख आधार बन्न थालेका छन्। यसले एआई क्षेत्रमा भइरहेको अर्बौँ डलरको लगानीमाथि नयाँ प्रश्न खडा गरेको छ।
