इटहरी। राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले १३ टन जिङ्क एस धुलोसहितको ट्रक उर्लाबारीबाट नियन्त्रणमा लिएको छ।
उक्त ट्रक बिना कुनै खरिद बिल र ट्याक्स बिल भारततर्फ लैजान लागिएको अवस्थामा शुक्रबार फेला परेको थियो। ना ६ ख १३४८ नम्बरको ट्रकमा रहेको उक्त धुलोको स्टक प्रमाणित नभएको र बिर्तामोडमा रहेको भनिएको कम्पनी नक्कली खडा गरी बिल बनाइएको स्रोतको दाबी छ।
राजस्व अनुसन्धान टोलीले आवश्यक कागजातबिना ट्रक नियन्त्रणमा लिएको भए पनि सार्वजनिक बिदाको दिनमा आर्थिक चलखेल गरी सामान छोड्ने तयारी भइरहेको आशंका गरिएको छ।
स्रोतका अनुसार शनिबार सार्वजनिक बिदाको दिनसमेत राजस्व अनुसन्धान पूर्वाञ्चल कार्यालय इटहरीबाट ट्रक छोड्ने प्रक्रिया अघि बढाउन खोजिएको छ।
१३ टन जिङ्क एसको स्रोत, कम्पनीको वैधता, बिलबिजक र सम्भावित तस्करीको विषयमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ।
