विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार मञ्च बाइनान्सका प्रमुख वित्तीय अधिकृत काइजर एनजीले कम्पनी छाड्ने भएका छन्। पाँच वर्षभन्दा बढी समय कम्पनीमा बिताएका एनजी नयाँ उद्यम सुरु गर्ने तयारीमा छन्। उनको बहिर्गमनको घोषणा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको घटनापछि आएको हो।
ब्लुमबर्गका अनुसार बाइनान्सकी सहप्रमुख कार्यकारी अधिकृत यी हेले जारी गरेको विज्ञप्तिमा एनजीले नयाँ उद्यम अघि बढाउने निर्णय गरेको उल्लेख गरेकी छन्। उनको जिम्मेवारी हस्तान्तरणका लागि पछिल्लो छ महिनादेखि नै तयारी भइरहेको कम्पनीले जनाएको छ।
गत नोभेम्बर १ मा ह्याकरहरूले बाइनान्सका प्रयोगकर्ताको ६ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका थिए। घटनापछि कम्पनीले केही दिनसम्म रकम झिक्ने सुविधा बन्द गरेको थियो।
सेवा पुनः सञ्चालनमा आएपछि सुरुका केही घण्टामै प्रयोगकर्ताले खुद ३ अर्ब ६० करोड डलर बराबरको रकम निकालेका थिए। यसले साइबर आक्रमणपछि प्रयोगकर्ताको विश्वास र कम्पनीको वित्तीय स्थिरतामाथि थप दबाब सिर्जना गरेको थियो।
बाइनान्स र अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त साइबर आक्रमणमा उत्तर कोरियाली ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको बताएका छन्।
कम्पनीले भने चोरीका कारण भएको सम्पूर्ण आर्थिक क्षति आफैँले व्यहोर्ने जनाएको छ। प्रयोगकर्तामाथि क्षतिको भार नथोपर्ने बाइनान्सको भनाइ छ।
