काठमाडौं: यस वर्ष तिहारको समयमा फूलको उत्पादन बढेसँगै बजारमा मूल्य घटेको छ। मौसम अनुकूल भएका कारण स्थानीय स्तरमा फूलको आपूर्ति पर्याप्त हुँदा मूल्यमा गिरावट आएको हो। मूल्य घट्दा उपभोक्तालाई केही राहत मिले पनि किसान र व्यापारी भने मर्कामा परेका छन्।
धरान कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्ष प्रतिमुठा रु १०० सम्ममा बिक्री भएको फूल यस वर्ष रु ४० देखि ५० मा झरेको छ। त्यस्तै गत वर्ष रु २०० देखि २५० सम्म पर्ने फूलको माला यस वर्ष रु १०० मा पाइने अवस्था छ। बजारमा फूलको मूल्य घट्दा लगानी उठाउनसमेत कठिन भएको व्यापारीहरूको गुनासो छ।
धनकुटाबाट फूल खरिद गरी धरानमा बिक्री गर्दै आएका व्यापारी प्रदीपकुमार चौधरीले गत वर्षको तुलनामा यस वर्ष व्यवसायबाट अपेक्षित आम्दानी हुन नसकेको बताए। उनले भने, ‘किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको छ।’ अर्का व्यापारी सिम यादवले पनि ऋण खोजेर सुरु गरेको व्यवसायमा मूल्य घटेका कारण घाटा व्यहोर्नुपरेको उल्लेख गरे।
धरान कृषि उपज बजारमा धनकुटा, तेह्रथुम, मोरङ र झापालगायतका जिल्लाबाट किसानहरूले फूल ल्याउने गरेका छन्। व्यवस्थापक भट्टराईका अनुसार धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गर्दछ। यस वर्ष स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको छ। सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी उत्पादनले बजार पाएको र यसले किसानलाई प्रोत्साहन मिलेको बताए। यद्यपि, बजार मूल्यमा आएको गिरावटले किसान र व्यापारीको आम्दानीमा भने असर पुगेको छ।
