एजेन्सी । चिनियाँ गुप्तचरसँग सम्बन्ध रहेको आशंकामा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङमाथि आन्तरिक छानबिन सुरु भएपछि उनको सम्पत्ति एकै दिनमा ७.४ अर्ब अमेरिकी डलरले घटेको छ। कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै ह्वाङ फोर्ब्सको विश्वका धनी व्यक्तिको सूचीमा दुई स्थान तल झर्दै १०औँ स्थानमा पुगेका छन्।
फोर्ब्सका अनुसार सोमबार अमेरिकी सेयर बजार खुलेको पहिलो ३० मिनेटमै ह्वाङको सम्पत्ति १६२.२ अर्ब डलरबाट घटेर १५४.७ अर्ब डलरमा झरेको थियो। कारोबारका क्रममा एनभिडियाको सेयर मूल्य ५.५ प्रतिशतसम्म घटेको थियो। प्रि–मार्केट कारोबारमा भने सेयर ७ प्रतिशतभन्दा बढीले ओरालो लाग्दा ह्वाङको सम्पत्ति १०.३ अर्ब डलरले घटेको थियो।
यो विवाद अमेरिकी सञ्चारमाध्यममा प्रकाशित एक रिपोर्टपछि सार्वजनिक भएको हो। रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायहरूले ह्वाङको चिनियाँ नागरिक एलिस ह्वाङसँग घनिष्ठ सम्बन्ध रहेको पत्ता लगाएका थिए। अमेरिकी अधिकारीहरूले एलिसमाथि चीनका लागि सूचना संकलन गरेको आशंका गरेका छन्।
६१ वर्षीय ह्वाङले कर्मचारीलाई सम्बोधन गर्दै एलिससँग व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरेका छन्। उनले आफ्नो कदमप्रति माफी माग्दै कम्पनीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।
एनभिडियाको सञ्चालक समितिले बाह्य कानुनी सल्लाहकारको सहयोगमा स्वतन्त्र निर्देशकहरू सम्मिलित छानबिन समिति गठन गरेको छ। कम्पनीले राष्ट्रिय सुरक्षा वा गोप्य व्यावसायिक सूचनामा सम्झौता भएको प्रमाण फेला नपरेको जनाएको छ।
अमेरिकी अधिकारीहरूको आशंका एलिसको एनभिडियासँग व्यावसायिक सम्बन्ध रहेको मेगास्पिड कम्पनीसँग पनि जोडिएको छ। सिंगापुरस्थित क्लाउड तथा कृत्रिम बौद्धिकता कम्प्युटिङ सेवा प्रदायक मेगास्पिडले एसिया–प्रशान्त क्षेत्रमा प्रविधि आपूर्ति गर्दै आएको छ। कम्पनीले आठ महिनापछि एलिसलाई व्यवस्थापकीय पदबाट हटाएको थियो। उक्त कम्पनीमार्फत चीनले प्रतिबन्धित उच्च प्रविधियुक्त एनभिडिया चिप्स प्राप्त गरिरहेको छ कि छैन भन्ने विषयमा अमेरिकी अधिकारीहरूले सन् २०२४ देखि निगरानी गर्दै आएका थिए।
यस विषयमा अमेरिकी गुप्तचर अधिकारीहरूले करिब एक वर्षअघि नै राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराएका थिए। तर, ट्रम्पले आइतबार ह्वाङको बचाउ गर्दै उनलाई प्रतिष्ठित व्यक्ति बताएका छन्। आगामी चीन भ्रमणमा ह्वाङलाई पनि सँगै लैजाने उनको भनाइ छ।
