काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विशेष बुलेटिनअनुसार कात्तिक २५ गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।
कात्तिक २६ गते हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईको मौसम मुख्यतया सफा रहने अनुमान छ। उक्त दिन कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
कात्तिक २७ गते पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्छ।
मङ्गलबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। सोमबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
