प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले २१ कात्तिकदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका पटाका तथा आतिशबाजीजन्य पदार्थ बरामद गरेको हो ।
साथै, पटाका तथा आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने र कानुनद्वारा उक्त पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोगमा बन्देज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनले भने, ‘पटाका तथा आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थको प्रयोगले जनधनको क्षति, आगलागी र वातावरण प्रदूषणजस्ता समस्या सिर्जना गर्ने भएकाले पटाका तथा आतिशबाजीजन्य पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग नगर्न अनुरोध गरिन्छ ।’
प्रहरीले बालबालिकालाई विस्फोटक पदार्थको गतिविधिमा संलग्न नगराई सम्भावित जोखिमबाट बचेर सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियाे ।
