काठमाडौं। विश्वभर एआई पूर्वाधार निर्माणका लागि बढेको लगानीसँगै चीनको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्ममा चीनको व्यापार बचत १.०४ ट्रिलियन डलर पुगेको छ।
यो चीनको व्यापार बचत १ ट्रिलियन डलरभन्दा माथि पुगेको लगातार दोस्रो वर्ष हो। गत वर्षको तुलनामा यस वर्ष उक्त सीमा एक महिनाअघि नै पार भएको छ।
एआई पूर्वाधारका लागि आवश्यक प्रविधि तथा उपकरणको उच्च मागले गर्दा कमजोर आन्तरिक मागका कारण अर्थतन्त्रमा परेको दबाबलाई केही राहत मिलेको छ। अक्टोबरमा चीनको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३५.२ प्रतिशतले बढेको छ, जुन अर्थशास्त्रीहरूको ३३.५ प्रतिशतको अनुमानभन्दा बढी हो।
विशेषगरी सेमिकन्डक्टरको निर्यात १११.१ प्रतिशतले बढेको छ भने समग्र उच्च प्रविधियुक्त उत्पादनको निर्यात ४७.९ प्रतिशतले वृद्धि भएको छ। चीनको आन्तरिक अर्थतन्त्रमा भने घरजग्गा बजारको मन्दी र उपभोक्ताको खर्च गर्ने अनिच्छाका कारण सुस्तता देखिएको छ। घरेलु माग कमजोर हुँदा चिनियाँ उत्पादकहरूले विदेशी बजारमा ध्यान केन्द्रित गरिरहेका छन्।
उदाहरणका लागि, अक्टोबरमा कार निर्यात बढे पनि घरेलु बजारमा सवारीसाधनको बिक्री लगातार १२औँ महिना घटेको छ। निर्यातमा बढ्दो निर्भरताले चीनको अर्थतन्त्रलाई विश्वव्यापी बजारको उतारचढावप्रति थप संवेदनशील बनाएको छ।
विश्लेषकहरूका अनुसार एआई पूर्वाधारको लगानी चक्र कमजोर भएमा चीनको निर्यात वृद्धिदर सुस्त हुन सक्छ। यसैबीच, चीनको बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली संघसँगको व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने जोखिम देखिएको छ।
युरोपेली नेताहरूले चिनियाँ आयातमा नियन्त्रणको माग गरिरहेका छन् भने अमेरिका र चीनबीच व्यापारिक असन्तुलन अझै मुख्य मुद्दा बनेको छ।
अक्टोबरमा चीनको आयात पनि ४१.६ प्रतिशतले बढेको छ, जुन अपेक्षाभन्दा बढी हो। मध्यपूर्वको आपूर्ति अवरोधका कारण कच्चा तेलको आयात मार्चयताकै उच्च विन्दुमा पुगेको छ।
आगामी दिनमा चीनले थप भन्सार शुल्क र व्यापारिक अवरोधको सामना गर्नुपर्ने जोखिम रहेको ट्रिभियम चाइनाका प्रमुख अर्थशास्त्री जो पिसेलले बताएका छन्।
