काठमाडौं। साउदी अरबमा दुई वर्षको बसाइपछि स्वदेश फर्किएका बागलुङको जैमिनी नगरपालिका-२, दमेकका मातृकाप्रसाद शर्माले गाउँमै व्यावसायिक किवी खेती सुरु गरेका छन्। उनले सुरुमा पाँच रोपनी जग्गाबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा विस्तार गरेका छन्।
शर्माले सुरुमा अलैँची खेती गर्ने प्रयास गरे पनि हावापानी अनुकूल नभएपछि किवीतर्फ आकर्षित भएका हुन्। अहिले उनको फार्ममा किवी लटरम्म फलेका छन्।
उनले खेती विस्तार र पूर्वाधार विकासका लागि हालसम्म करिब २० लाख रुपैयाँ लगानी गरिसकेका छन्। यस कार्यमा उनले गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदानसमेत प्राप्त गरेका छन्।
गत वर्ष चार लाख रुपैयाँको किवी बिक्री गरेका शर्माले यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानी बढ्ने अपेक्षा राखेका छन्। यद्यपि, बजारमा किवीले उचित मूल्य नपाएको उनको गुनासो छ। बजारमा प्रतिकिलो ४ देखि ५ सय रुपैयाँसम्म मूल्य रहे पनि आफूले प्रतिकिलो २ सय रुपैयाँमा बेच्न बाध्य हुनुपरेको उनले बताए।
शर्माले किवीसँगै केही जग्गामा सुन्तला खेतीसमेत सुरु गरेका छन्। युवाहरूले गाउँमै उद्यम गर्न सके विदेशमा जस्तै आम्दानी गर्न सकिने उनको विश्वास छ।
