काठमाडौं । राठी ग्रुपद्वारा सञ्चालित अन्नपूर्ण वाइन्डिङ वायरको व्यापार एक वर्षमा ६ प्रतिशतले बढेर ९१ करोड ३० लाख रुपैयाँ पुगेको छ। कम्पनीले सन् २०२५ मा ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२४ मा भने कम्पनीको व्यापार ६१ करोड ९० लाख रुपैयाँ थियो।
व्यापारसँगै कम्पनीको सञ्चालन र खुद नाफा मार्जिनमा पनि सुधार आएको छ। सन् २०२५ मा ६ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२६ मा बढेर ६.७५ प्रतिशत पुगेको छ। यसैगरी, खुद नाफा मार्जिन २.०६ प्रतिशतबाट बढेर २.३८ प्रतिशत कायम भएको छ।
कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ। सन् २०२५ मा २ करोड ७० लाख रुपैयाँ रहेको यस्तो रकम सन् २०२६ मा बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ।
यद्यपि, कम्पनीको वित्तीय संरचना अझै उच्च ऋणभारमा निर्भर छ। सन् २०२५ मा २.९१ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा घटेर २.५५ गुणा कायम भएको छ। तर, ब्याज भुक्तानी क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात भने २.७१ गुणाबाट घटेर २.२९ गुणामा झरेको छ। कम्पनीको कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात १५.७९ गुणा रहेको छ।
विराटनगरमा उत्पादन उद्योग रहेको अन्नपूर्ण वाइन्डिङ वायर नेपालकै पहिलो वाइन्डिङ वायर उत्पादक उद्योग हो। कम्पनीले कपर वाइन्डिङ वायर, स्ट्रिप्स र इन्सुलेटेड कन्डक्टर उत्पादन गर्दै आएको छ। राठी र अन्नपूर्ण ब्रान्डमा आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको कम्पनीका अध्यक्ष मुकेशकुमार राठी हुन्।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ७५ करोड रुपैयाँको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जातर्फ १२ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ।
