काठमाडौं । त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको फर्मा एक्स नेपालले एक वर्षमा ८३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले बढेको हो। सन् २०२५ मा कम्पनीले ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीको व्यापार पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। सन् २०२४ मा ३५ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ११ करोड ४० लाख र सन् २०२२ मा ८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। पछिल्लो चार वर्षमा कम्पनीको व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ।
व्यापार बढे पनि कम्पनीको नाफा मार्जिन भने पछिल्ला तीन वर्षदेखि २ प्रतिशतको हाराहारीमा सीमित छ। अर्कोतर्फ, व्यवसायको आकार र सञ्चालन मुनाफामा भएको वृद्धिको तुलनामा ऋणको स्तर उच्च हुँदा कम्पनीको वित्तीय जोखिम बढेको देखिन्छ।
गत आर्थिक वर्षसम्म कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात २१ गुणा पुगेको छ। सन् २०२५ सम्मका अघिल्ला तीन वर्षमा यस्तो अनुपात ६ गुणाभन्दा बढी थियो। यसले कम्पनीको सञ्चालन नाफाको तुलनामा ऋणको भार तीव्र रूपमा बढेको देखाउँछ।
सन् २०२१ मा दर्ता भई व्यावसायिक कारोबार सुरु गरेको फर्मा एक्स नेपालले विभिन्न प्रकारका औषधि तथा मेडिकल सामग्रीको कारोबार गर्दै आएको छ। कम्पनीले अस्पतालसँग सहकार्य गरी अस्पताल परिसरमा रहेका फार्मेसी काउन्टरको व्यवस्थापन तथा सञ्चालन सेवा पनि प्रदान गर्छ।
कम्पनीमा त्रिवेणी ग्रुपको ५३ प्रतिशत र विशाल ग्रुपको ४७ प्रतिशत स्वामित्व छ। रवि पौडेल कार्यकारी अधिकृत रहेको कम्पनीमा छ जना व्यक्तिगत लगानीकर्ता र एक संस्थागत लगानीकर्ताको सहभागिता रहेको छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल एक अर्ब रुपैयाँको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जाका लागि २५ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७४ करोड ४० लाख रुपैयाँको रेटिङ गराइएको छ।
