काठमाडौँ। औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कार्य विस्तार गर्न आवश्यक नीति, वित्त, प्रविधि र संस्थागत क्षमताबारे संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले आज सार्वजनिक गरेको प्रतिवेदनमा औद्योगिक क्षेत्रमा हरितगृह ग्यास उत्सर्जन घटाउन पहिचान गरिएका अवसर, चुनौती र अवरोधबारे विस्तृत चर्चा गरिएको छ।
प्रतिवेदनमा सन् २०२६ को अप्रिलमा दक्षिण कोरियाको योसु र सेप्टेम्बरमा अस्ट्रेलियाको सिड्नीमा आयोजित सातौँ तथा आठौँ विश्वव्यापी संवाद र लगानीकेन्द्रित कार्यक्रमका निष्कर्ष समेटिएका छन्।
ती कार्यक्रममा आयोजित ‘पिच हब’ सत्रका निष्कर्षसमेत प्रतिवेदनमा समावेश छन्। दुवै संवादमा औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणका महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्न र तिनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक उपायबारे विचारविमर्श गरिएको थियो।
कार्बन उत्सर्जन घटाउने विविध उपाय
वर्षभरि भएका छलफलले विभिन्न औद्योगिक क्षेत्र र देशको अवस्थाअनुसार कार्बन उत्सर्जन घटाउने उपाय फरक हुन सक्ने देखाएका छन्। प्रतिवेदनले औद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तार गर्न प्रविधिगत समाधान मात्र पर्याप्त नहुने औँल्याउँदै सहयोगी नीति, वित्तीय स्रोतमा पहुँच, आवश्यक पूर्वाधार र संस्थागत क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गरेको छ।
निकट भविष्यमै कार्यान्वयन गर्न सकिने उपायमा ऊर्जा दक्षता अभिवृद्धि, औद्योगिक प्रक्रियाको विद्युतीकरण, नवीकरणीय ऊर्जाको प्रयोग, इन्धन तथा कच्चा पदार्थको विकल्प परिवर्तन र वैकल्पिक सामग्रीको उपयोग रहेका छन्। त्यस्तै, कार्बन उत्सर्जन घटाउन कठिन हुने औद्योगिक क्षेत्रमा मध्यम तथा दीर्घकालीन रूपमा कार्बन सङ्कलन, उपयोग तथा भण्डारण (सीसीयूएस) र हरित हाइड्रोजनको प्रयोग महत्त्वपूर्ण हुने प्रतिवेदनमा जनाइएको छ।
साना तथा परीक्षण परियोजनाबाट अघि बढेर औद्योगिक क्षेत्रमा जलवायुमैत्री प्रविधि तथा उपायलाई ठुलो स्तरमा कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको प्रतिवेदनको ठहर छ। औद्योगिक रूपान्तरणलाई प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, आर्थिक विविधीकरण, ऊर्जा सुरक्षा, रोजगारी सिर्जना र नयाँ मूल्य शृङ्खलाको विकासजस्ता व्यापक आर्थिक तथा विकासका प्राथमिकतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
वित्त परिचालन र कार्यान्वयनमा सहयोग
विश्वव्यापी संवादसँगै आयोजना गरिएका दुई लगानीकेन्द्रित कार्यक्रमले औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणका उपाय कार्यान्वयन गर्न आवश्यक लगानीका पक्षमा विशेष ध्यान दिएका थिए। कार्यक्रममा न्यूनीकरणसम्बन्धी समाधानलाई परियोजनाको अवधारणाबाट वास्तविक कार्यान्वयनसम्म पुर्याउन आवश्यक वित्तीय, नीतिगत तथा संस्थागत संरचनाबारे छलफल भएको थियो।
दुवै कार्यक्रममा आयोजित ‘पिच हब’ सत्रले परियोजना प्रस्तावकलाई आफ्ना ठोस परियोजना प्रस्तुत गर्ने र वित्तीय परामर्शदातासँग छलफल गरी परियोजनालाई लगानीयोग्य बनाउन आवश्यक सुझाव प्राप्त गर्ने अवसर प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ।
