काठमाडौं। दसैँ र तिहार सकिएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा छठ पर्व लक्षित व्यापारमा वृद्धि भएको छ।
छठ पर्व नजिकिएसँगै पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको चहलपहल बढेको छ।
बजारमा विशेषगरी पूजामा प्रयोग हुने फलफूल, पूजा सामग्री र बाँसबाट बनेका सामग्री खरिद गर्ने ग्राहकको भीड लागेको छ। श्रद्धालुहरूले छठ पर्वका लागि ठेकुवा, भुसुवा, नरिवल, केरा, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा र भोगटे जस्ता सामग्रीको खोजी गरिरहेका छन्।
त्यस्तै, पूजाका लागि आवश्यक पर्ने बाँसको सुप, नाङ्लो, डालो, टोकरी, माटोको हात्ती, दियो, अगरबत्ती, धूप र पञ्चमेवाको समेत किनमेल भइरहेको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यो पर्वका लागि व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर विधिपूर्वक पूजा गर्ने गर्छन्।
तराई-मधेसमा विशेष महत्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।
