काठमाडौं। यातायात व्यवस्था विभागले सवारी साधनमा भीएलटीडी लगायतका प्रविधिमैत्री उपकरण जडान गर्ने सेवा प्रदायकहरूको सूचीकरण प्रक्रिया स्थगन गरेको छ।
विभागले प्राविधिक कारण देखाउँदै उक्त प्रक्रिया अर्को सूचना नआएसम्मका लागि रोकेको हो।
विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ बमोजिम कात्तिक ११ गते ३५ दिने सूचना जारी गर्दै इच्छुक सेवा प्रदायकहरूलाई आवेदन दिन आह्वान गरेको थियो।
उक्त सूचना प्रकाशित भएको पाँच दिनमै विभागले प्रक्रिया स्थगन गरेको हो। विभागले प्राविधिक कारणले सूचीकरण रोकिएको जनाए पनि सो समस्याको विस्तृत विवरण भने खुलाएको छैन।
यसअघि जारी गरिएको सूचनामा भीएलटीडी, क्यामेरा प्रणाली र आपतकालीन बटन जडानका लागि कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता, नेपाल दूरसञ्चार प्राधिकरणको प्रकार स्वीकृति र कम्तीमा ५ वर्षको कार्यअनुभव लगायतका कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो।
साथै, उपकरणको परीक्षण सफल भएपछि मात्र अस्थायी सूचीकरण गरिने र त्यसपछि पूर्ण सूचीकरण प्रक्रिया अघि बढाइने कार्यविधि तय गरिएको थियो।
मापदण्ड अनुसार यसअघि नै उपकरण जडान भइसकेका सवारी साधनहरूलाई ६ महिनाभित्र नयाँ मापदण्ड अनुसार परिवर्तन गर्नुपर्ने प्रावधान समेत राखिएको थियो।
यद्यपि, विभागले अचानक प्रक्रिया स्थगन गरेपछि यसको कारणबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। विभागका अधिकारीहरूले यसबारे थप प्रतिक्रिया दिन चाहेनन्।
