जनकपुरधाम। छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई-मधेसका बजारमा केराको माग र कारोबारमा उल्लेख्य वृद्धि भएको छ।
सूर्य उपासनाको यस पर्वमा केरालाई मुख्य प्रसादका रूपमा लिइने भएकाले बजारमा यसको चहलपहल बढेको हो।
यस वर्ष भारतबाट केरा आयात नभएको र स्वदेशी उत्पादनले नै बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन्। जनकपुर फलफूल व्यवसायी सङ्घका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष भारतीय केराको आयात शून्य छ। नेपालको टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढ र कोशी क्षेत्रबाट केराको आपूर्ति भइरहेकाले अभाव नभएको उनले दाबी गरे।
बजारमा मिर्चमान जातको केरा प्रतिघरी १ हजारदेखि १ हजार २ सय रुपैयाँ र गोपाल जातको केरा ५ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। अध्यक्ष यादवले भने, ‘यस वर्ष छठका लागि भारतबाट केरा आयात गर्नुपर्ने अवस्था छैन, नेपालकै उत्पादनले बजारको माग पर्याप्त रूपमा धानेको छ।’
यद्यपि, व्यवसायीले केराको सहज उपलब्धता रहेको दाबी गरे पनि उपभोक्ताहरू भने मूल्यप्रति सन्तुष्ट छैनन्। विगतमा भारतीय केराको आयात हुँदा मूल्यमा प्रतिस्पर्धा हुने गरेकोमा यस वर्ष स्वदेशी केरा महँगो भएको उपभोक्ताहरूको गुनासो छ।
केही उपभोक्ताले व्यापारीहरूले प्रतिघरी १२ सयदेखि १५ सय रुपैयाँसम्म मागिरहेको बताएका छन्। विगतमा ६-७ सय रुपैयाँमा पाइने केराको मूल्य यस वर्ष दोब्बर पुगेको भन्दै उनीहरूले सरकारलाई मूल्य नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन्।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा केराको घरीसहितका सामग्री चढाउने धार्मिक परम्परा छ। स्वदेशी उत्पादनले बजार धानेपछि किसान र व्यवसायी उत्साहित देखिए पनि मूल्यवृद्धिले सर्वसाधारणमाथि आर्थिक भार थपेको छ।
