काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा केराको कारोबार बढेको छ। पूजाका लागि केराको माग बढेपछि व्यापारीहरूले विभिन्न जिल्लाबाट केरा ल्याएर बिक्री गरिरहेका छन्।
मकवानपुर, चितवन, नवलपरासी, कैलाली, बारा, सर्लाही, झापा, मोरङ र उदयपुरलगायत जिल्लाबाट बजारमा केरा आउने गरेको छ। व्यापारी डम्बरबहादुर बस्नेतका अनुसार भारतीय केरा आयात बन्द भएपछि नेपाली उत्पादनले बजार पाएको छ।
उनका अनुसार केराको आकार र गुणस्तरअनुसार प्रतिगोटा ८ देखि १२ रुपैयाँसम्ममा बिक्री भइरहेको छ। पर्वका बेला ढुवानी भाडा बढ्दा केराको लागतसमेत बढेको उनले बताए।
यता, उपभोक्ताले भने गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य महँगिएको गुनासो गरेका छन्।
