काठमाडौं। नेपाल टेलिकमको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३७.३५ प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो । यस अवधिमा खुद नाफा करिब ४९ करोड ५० लाख रुपैयाँले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको करअघिको मुनाफा ३.६५ प्रतिशतले वृद्धि भएर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल आय ०.०७ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । तर, सञ्चालन आय भने सामान्य घटेर ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा (इबिट्डा) ६.१३ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो र बूढीगण्डकीमा आएको बाढीका कारण दूरसञ्चार सेवा प्रभावित हुँदा आम्दानीमा असर परेको हो । विपद्बाट प्रभावित सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउँदा पनि सेवा बिक्रीबाट प्राप्त हुने राजस्व प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम मूल्यका तथा ठूला डेटा प्याकेजको प्रयोग बढ्नुले समेत आम्दानीमा दबाब परेको कम्पनीको भनाइ छ । यद्यपि, जीएसएम र एफटीटीएच सेवाको सञ्चालन राजस्वमा भने क्रमशः १० लाख र ४ करोड ४० लाख रुपैयाँ वृद्धि भएको छ ।
कर्मचारीको तलब वृद्धि हुँदा खर्च बढे पनि ह्रास खर्चमा कमी र इम्पेयरमेन्ट रिभर्सलका कारण कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले दुर्गम तथा विकट क्षेत्रमा दूरसञ्चार सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
