काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड-२ ले सात वर्षे अवधि पूरा गरी इकाईधनीलाई रकम फिर्ता गर्न सुरु गरेको छ। सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाले सञ्चालन अवधिमा इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिएको जनाएको छ।
५६ करोड रुपैयाँ कोष आकार रहेको योजना २०७६ असार २२ गते सञ्चालनमा आएको थियो। सात वर्षे अवधि पूरा भएपछि २०८३ असार २१ गते योजना परिपक्व भएको थियो। खारेजी प्रक्रिया सम्पन्न भएपछि इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानी सुरु गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ।
योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक नगद लाभांश वितरण गरेको थियो। धितोपत्र बजारमा आएको उतारचढाव, बजार मूल्यमा गिरावट र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद प्रतिफल दिन सफल भएको कम्पनीको भनाइ छ।
यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत पनि क्यापिटलले औसत वार्षिक १२ प्रतिशत प्रतिफल दिएको थियो।
यसैबीच, सिटिजन्स क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त १० वर्षे अवधिको उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने तय भएको छ।
यस योजनाको प्रारम्भिक कोष आकार १ अर्ब रुपैयाँ रहेको छ। माग र आवेदनका आधारमा कोष आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ। सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले योजनाको इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।
हाल सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनासहित विभिन्न सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको छ।
कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापन क्षमता र सेवाको गुणस्तरका लागि इक्रा नेपालबाट एएमसी क्वालिटी थ्रीप्लस रेटिङ प्राप्त गरेको छ। अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा रहेको क्यापिटलले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण र पुँजी बजारको विकासलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने जनाएको छ।
