काठमाडौं। विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको एउटा दुर्लभ तैलचित्र लिलामीमा कीर्तिमानी १९ करोड ४ लाख अमेरिकी डलर अर्थात् करिब २८ अर्ब नेपाली रुपैयाँमा बिक्री भएको छ।
न्युयोर्कमा बुधबार आयोजित लिलामीमा ‘सोथबिज’ले भ्यान गगको ‘शातेनिएर आँ फ्लर’ नामक चित्र बिक्री गरेको हो। यो मूल्यले सन् २०२२ मा भ्यान गगकै अर्को कृतिले कायम गरेको ११ करोड ७२ लाख डलरको कीर्तिमान तोडेको छ।
भ्यान गगले सन् १८९० मा आफ्नो जीवनको अन्तिम दुई महिनाको अवधिमा यो चित्र कोरेका थिए। सोथबिजका अनुसार निजी स्वामित्वमा रहेका त्यस अवधिका कलाकृतिहरूमध्ये यो सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। लिलामी हुनुभन्दा केही घण्टाअघि मात्रै यो पेन्टिङको स्वामित्वलाई लिएर रहेको विवाद सुल्झिएको थियो।
नाजी शासनको उदयका बेला फिसर परिवारलाई दबाबमा पारेर पेन्टिङ बिक्री गर्न बाध्य पारिएको भन्दै उत्तराधिकारीहरूले दाबी गरेका थिए। लिलामीअघि नै परिवारहरूबीच सहमति भएपछि ऐतिहासिक बिक्री सम्भव भएको हो। यद्यपि, यो पेन्टिङ कसले खरिद गर्यो भन्नेबारे खुलाइएको छैन।
लिलामीमा राख्नुअघि यसको मूल्य १८ करोड डलर अनुमान गरिएको थियो। यो चित्र सन् १९०९ मा जर्मन प्रकाशक स्यामुएल फिसरले खरिद गरेका थिए।
त्यसपछि सन् १९३६ मा पेरिसका हेन्रिएट र मार्सेल क्यापफेररको स्वामित्वमा पुगेको यो पेन्टिङ विभिन्न व्यक्ति हुँदै सन् १९७५ मा ब्लाकियर परिवारले खरिद गरेको थियो। पछिल्लो बिक्रीअघि आधा शताब्दीभन्दा बढी समय यो कलाकृति ब्लाकियर परिवारकै स्वामित्वमा थियो।
