काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकका लागि वेबसाइट तथा मोबाइल बैंकिङमार्फत सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मा आवेदन दिन सकिने सुविधा ल्याएको छ।
बैंकले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सञ्चालनमा ल्याएको सिटिजन्स सदाबहार योजना अन्तर्गतको एसआईपीमा अब ग्राहकले डिजिटल माध्यमबाटै लगानी प्रक्रिया सुरु गर्न सक्नेछन्।
बैंकका अनुसार सिटिजन्स डिजी बैंक सेवामार्फत ग्राहकले बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ एप प्रयोग गरी सहजै एसआईपी आवेदन दर्ता गर्न सक्नेछन्। यो व्यवस्थाले लगानी प्रक्रियालाई छिटो, सरल र सुरक्षित बनाउनुका साथै ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न सहज हुने बैंकले जनाएको छ।
यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको रूपमा सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। साथै, बैंकले युवा लक्षित सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट र फ्रिलान्सरहरूका लागि विशेष बचत खाता पनि सार्वजनिक गरिसकेको छ।
बैंकले हालै सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ। यसका अतिरिक्त मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर प्राप्त गर्न सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद निकाल्न मिल्ने क्रस बैंक टेलर सुविधा समेत बैंकले प्रदान गर्दै आएको छ।
