संगीत सुन्ने, कलाकारलाई मन पराउने र उनीहरूको कार्यक्रम हेर्ने मानिस संसारभर छन्। तर संगीतप्रतिको यही आकर्षणलाई विशाल व्यावसायिक अवसरमा बदल्न सकिन्छ भन्ने सोच सबैले राखेका हुँदैनन्।
गीत उत्पादन गर्ने, कलाकारको व्यवस्थापन गर्ने र कन्सर्ट आयोजना गर्ने परम्परागत मनोरञ्जन व्यवसायभन्दा बाहिर निस्केर संगीत, प्रविधि, डिजिटल सामग्री, उत्पादन बिक्री र प्रशंसक समुदायलाई एउटै व्यावसायिक संरचनामा जोड्न सकिन्छ भन्ने अवधारणाले दक्षिण कोरियाको एउटा कम्पनीलाई विश्वव्यापी बजारमा स्थापित गरेको छ।
त्यही कम्पनी हो दक्षिण कोरियाको हाइभ
आज हाइभ केवल गीत उत्पादन गर्ने वा कलाकार व्यवस्थापन गर्ने कम्पनी होइन। यो संगीतको बौद्धिक सम्पत्ति, कलाकारको लोकप्रियता, प्रत्यक्ष प्रस्तुति, डिजिटल प्लेटफर्म, आधिकारिक सामग्री, व्यापारिक वस्तु, खेल र अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा लगानी गर्ने बहुआयामिक व्यवसाय हो।
यसको व्यावसायिक संरचनामा कलाकारले गीत गाउने र प्रशंसकले गीत सुन्ने सम्बन्धलाई मात्र आधार बनाइएको छैन। कलाकार र प्रशंसकबीचको सम्बन्धलाई दीर्घकालीन आर्थिक गतिविधिमा रूपान्तरण गर्ने रणनीति पनि जोडिएको छ।
विश्वव्यापी लोकप्रियता हासिल गरेको दक्षिण कोरियाली समूह बीटीएस यस कम्पनीको सफलताको सबैभन्दा चर्चित आधार हो। तर हाइभको कथा बीटीएसको लोकप्रियतामा मात्र सीमित छैन।
बीटीएसबाट प्राप्त अन्तर्राष्ट्रिय पहिचानलाई प्रयोग गरेर कम्पनीले नयाँ कलाकार उत्पादन, स्थापित सङ्गीत संस्था अधिग्रहण, विदेशी बजारमा प्रवेश, डिजिटल प्लेटफर्म निर्माण र मनोरञ्जन व्यवसायको नयाँ संरचना विकास गरेको छ।
सन् २००५ मा सानो कलाकार व्यवस्थापन कम्पनीका रूपमा सुरु भएको व्यवसायले दुई दशकको अवधिमा विश्वव्यापी मनोरञ्जन उद्योगमा प्रभावशाली स्थान बनाएको छ।
सन् २०२५ मा कम्पनीको कुल आम्दानी २६ खर्ब ४९ अर्ब ८७ करोड दक्षिण कोरियाली वन पुगेको थियो। अघिल्लो वर्षको तुलनामा यो १७.५ प्रतिशत वृद्धि हो। सन् २०२६ को तेस्रो त्रैमासिकमा भने कम्पनीले एकै त्रैमासिकमा १५ खर्ब ३० अर्ब वनभन्दा बढी आम्दानी गर्दै नयाँ कीर्तिमान बनाएको छ।
संगीतलाई केवल मनोरञ्जनको साधन नभई विश्वव्यापी व्यवसायमा रूपान्तरण गर्ने हाइभको यात्रा बजारको आवश्यकता बुझ्ने क्षमता, कलाकार निर्माण, प्रविधिको प्रयोग र प्रशंसकसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्ने रणनीतिको परिणाम हो।
सानो कम्पनीबाट विश्व बजारको यात्रा
हाइभको सुरुआत सन् २००५ मा बिग हिट इन्टरटेनमेन्टका रूपमा भएको थियो। दक्षिण कोरियाली संगीत उद्योगमा पहिले नै स्थापित ठूला मनोरञ्जन कम्पनीहरू सक्रिय रहेका बेला नयाँ कम्पनीका लागि बजारमा आफ्नो स्थान बनाउनु सहज थिएन। कलाकार खोज्ने, प्रशिक्षण दिने, गीत उत्पादन गर्ने, प्रचारप्रसार गर्ने र दर्शकसम्म पुग्ने काममा ठूलो लगानी आवश्यक पर्थ्यो।
कम्पनीका संस्थापक बाङ सि-ह्युकले संगीत उत्पादन र कलाकार व्यवस्थापनको अनुभवलाई व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यसहित बिग हिट स्थापना गरेका थिए। उनी संगीतकार तथा निर्माता पनि थिए। संगीत उद्योगको सिर्जनात्मक पक्ष र व्यावसायिक पक्ष दुवै बुझेका उनले कलाकारलाई केवल गीत गाउने व्यक्तिका रूपमा नभई दीर्घकालीन बौद्धिक सम्पत्तिका रूपमा विकास गर्नुपर्ने सोच अघि सारे।
त्यतिबेला दक्षिण कोरियाको मनोरञ्जन उद्योगमा ठूला कम्पनीहरूको प्रभाव बलियो थियो। नयाँ कलाकारलाई स्थापित गर्न प्रशिक्षण, गीत, नृत्य, दृश्य सामग्री, प्रचार र बजार विस्तारमा निरन्तर लगानी गर्नुपर्ने अवस्था थियो। यस्तो प्रतिस्पर्धामा सीमित स्रोत भएको कम्पनीका लागि जोखिम कम थिएन।
बिग हिटले प्रारम्भिक चरणमा विभिन्न कलाकारसँग काम गर्यो। तर कम्पनीले अपेक्षित व्यावसायिक सफलता तुरुन्त प्राप्त गर्न सकेन। कलाकार व्यवस्थापन र संगीत उत्पादनबाट आम्दानी गर्ने परम्परागत मोडलमा प्रतिस्पर्धा बढिरहेको थियो। बजारमा स्थापित कम्पनीहरूसँग स्रोत, अनुभव र प्रचार संयन्त्र पनि बलियो थियो।
कम्पनीले यही अवस्थाबीच नयाँ पुस्ताका कलाकार विकास गर्ने रणनीतिलाई निरन्तरता दियो। कलाकारको क्षमता, व्यक्तित्व, सिर्जनात्मकता र दर्शकसँगको सम्बन्धलाई महत्त्व दिने अभ्यास अघि बढाइयो।
यसै क्रममा सन् २०१३ मा बीटीएसको औपचारिक सुरुआत भयो। आरएम, जिन, सुगा, जे–होप, जिमिन, भी र जुंगकुक सदस्य रहेको यो समूह हाइभको इतिहासमा निर्णायक मोड बन्यो। सुरुमा दक्षिण कोरियाको संगीत बजारमा आफ्नो पहिचान बनाउन संघर्ष गरेको समूहले क्रमशः अन्तर्राष्ट्रिय प्रशंसकको ध्यान आकर्षित गर्न थाल्यो।
बीटीएसको सफलताको एउटा महत्त्वपूर्ण पक्ष यसको संगीतको विषयवस्तु थियो। युवा पुस्ताको जीवन, सामाजिक दबाब, आत्मविश्वास, सपना, मानसिक अवस्था र व्यक्तिगत अनुभवलाई गीत तथा प्रस्तुतिमार्फत अभिव्यक्त गर्ने शैलीले समूहलाई फरक पहिचान दियो।
सामाजिक सञ्जालको प्रयोगले पनि समूहको अन्तर्राष्ट्रिय विस्तारमा सहयोग गर्यो। परम्परागत सञ्चार माध्यम र टेलिभिजन कार्यक्रमको सीमाभन्दा बाहिर गएर कलाकार र प्रशंसकबीच प्रत्यक्ष सम्बन्ध निर्माण गर्ने अवसर सिर्जना भयो। प्रशंसकले कलाकारको संगीत मात्र होइन, उनीहरूको दैनिक गतिविधि, विचार, अभ्यास र व्यक्तिगत यात्राबारे पनि जानकारी पाउन थाले।
हाइभले यस सम्बन्धलाई व्यावसायिक रणनीतिको महत्त्वपूर्ण हिस्सा बनायो। कम्पनीका संस्थापक बाङ सि–ह्युकले सन् २०२१ मा सेयरधनीलाई पठाएको पत्रमा कम्पनीको सुरुआती सोच प्रशंसकलाई केन्द्रमा राखेर कलाकार र कम्पनी दुवैको विकास गर्ने रहेको उल्लेख गरेका थिए।
उनको पत्रमा भनिएको थियो, “हाइभको सफलता एकैपटक वा संयोगले प्राप्त भएको होइन।” कम्पनीले परिवर्तनशील बजारअनुसार आफ्नो व्यावसायिक संरचना बदल्दै आएको उनको भनाइ थियो।
बीटीएसको लोकप्रियता बढ्दै गएपछि बिग हिटको व्यवसाय पनि विस्तार भयो। समूहले विश्वका विभिन्न देशमा कार्यक्रम गर्न थाल्यो। गीत, एल्बम, डिजिटल प्रसारण, विज्ञापन, व्यापारिक सामग्री र प्रशंसकसँग सम्बन्धित सेवाबाट आम्दानीका नयाँ स्रोत विकास भए।
बीटीएसले अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेको पहिचानले कम्पनीलाई नयाँ लगानी र व्यावसायिक विस्तारका लागि आधार तयार गरिदियो। यही सफलताले सानो कलाकार व्यवस्थापन कम्पनीलाई विश्वव्यापी मनोरञ्जन व्यवसायमा रूपान्तरण गर्ने बाटो खोल्यो।
बीटीएसको लोकप्रियताबाट नयाँ व्यवसाय
हाइभको व्यवसाय विस्तारमा बीटीएसको भूमिका निर्णायक रह्यो। तर कम्पनीले समूहको लोकप्रियतालाई केवल गीत र एल्बम बिक्रीमा सीमित राखेन। प्रशंसकले कलाकारसँग जोडिन चाहने विभिन्न माध्यमलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्यो।
बीटीएसका गीतहरू डिजिटल माध्यमबाट विश्वभर सुनिन थाले। समूहका एल्बम, भिडियो र प्रत्यक्ष प्रस्तुतिले अन्तर्राष्ट्रिय बजारमा लोकप्रियता हासिल गरे। कन्सर्टका टिकट, आधिकारिक पोसाक, सङ्कलनयोग्य सामग्री, तस्बिर कार्ड, पोस्टर र अन्य व्यापारिक वस्तुको माग बढ्दै गयो।
यसले हाइभलाई कलाकारको लोकप्रियताबाट आम्दानी गर्ने परम्परागत संरचनाभन्दा फराकिलो बजार उपलब्ध गरायो। एउटै कलाकारको सिर्जनात्मक कामलाई विभिन्न उत्पादन र सेवासँग जोड्न सकिने सम्भावना कम्पनीले पहिचान गर्यो।
संगीत व्यवसायमा सामान्यतया गीत र एल्बम बिक्री, प्रत्यक्ष कार्यक्रम तथा कलाकारको विज्ञापनबाट आम्दानी हुने गर्छ। हाइभले यसमा प्रशंसक सदस्यता, डिजिटल सामग्री, व्यापारिक सामग्री, कलाकारको नाम र छविको प्रयोगबाट प्राप्त हुने अनुमति शुल्क तथा अन्य बौद्धिक सम्पत्तिमा आधारित व्यवसाय थप्यो।
यसको अर्थ कलाकारले एउटा गीत सार्वजनिक गरेपछि त्यसको व्यावसायिक उपयोग गीत बिक्रीमा मात्र सीमित रहँदैन।
गीतसँग सम्बन्धित भिडियो, वृत्तचित्र, विशेष प्रस्तुति, आधिकारिक सामग्री, सङ्कलनयोग्य उत्पादन र प्रशंसकका लागि उपलब्ध डिजिटल सुविधाबाट पनि आम्दानी सिर्जना गर्न सकिन्छ।
हाइभले यसरी कलाकारको लोकप्रियतालाई दीर्घकालीन व्यवसायिक सम्पत्तिका रूपमा विकास गर्ने प्रयास गर्यो।
बीटीएसको विश्वव्यापी लोकप्रियताले कम्पनीलाई अन्तर्राष्ट्रिय लगानीकर्तामाझ पनि स्थापित गरायो। सन् २०२० अक्टोबरमा बिग हिट इन्टरटेनमेन्ट दक्षिण कोरियाको सेयर बजारमा सूचीकृत भयो। प्रारम्भिक सार्वजनिक निष्कासनबाट कम्पनीले ठूलो पुँजी जुटायो। त्यसपछि अन्तर्राष्ट्रिय विस्तार र नयाँ व्यवसायमा लगानी गर्ने क्षमता बढ्यो।
सन् २०२१ मार्चमा कम्पनीले आफ्नो नाम बिग हिट इन्टरटेनमेन्टबाट परिवर्तन गरेर हाइभ राख्यो। नाम परिवर्तनसँगै कम्पनीले आफूलाई कलाकार व्यवस्थापन गर्ने संस्थाबाट बहुआयामिक मनोरञ्जन व्यवसायका रूपमा प्रस्तुत गर्ने रणनीति अघि बढायो।
कम्पनीले आफ्नो पहिचानलाई संगीत, कलाकार र प्रशंसकसँग जोड्दै नयाँ बजारमा विस्तार गर्ने लक्ष्य राख्यो। यसको व्यावसायिक संरचनामा कलाकार उत्पादन गर्ने संस्था, कलाकारको लोकप्रियतामा आधारित सेवा र डिजिटल प्लेटफर्मलाई जोडियो।
हाइभको सन् २०२१ को सेयरधनी पत्रमा पनि कम्पनीले आफ्नो मूल आधार संगीत, कलाकार र प्रशंसक नै रहने तर व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र प्रवेश गर्ने उल्लेख गरेको थियो। “हाइभको सार अझै पनि संगीत, कलाकार र प्रशंसक नै हुन्” भन्ने कम्पनीको धारणा त्यसै पत्रमा प्रस्तुत गरिएको थियो।
यसले कम्पनीको विस्तारको दिशा स्पष्ट गर्यो। संगीत यसको मुख्य उत्पादन हो, कलाकार त्यसको सिर्जनात्मक आधार हुन् र प्रशंसक त्यसको बजार तथा दीर्घकालीन सम्बन्धका केन्द्र हुन्।
कलाकार व्यवस्थापनबाट बहुआयामिक व्यवसाय
हाइभले बीटीएसको लोकप्रियताबाट प्राप्त अनुभवलाई अन्य कलाकार तथा समूह विकासमा पनि प्रयोग गर्यो। कम्पनीले आफ्नै कलाकार उत्पादन गर्ने प्रक्रियालाई निरन्तरता दिनुका साथै अन्य स्थापित मनोरञ्जन संस्थासँग सहकार्य र अधिग्रहणमार्फत आफ्नो व्यावसायिक संरचना विस्तार गर्यो।
यसको एउटा महत्त्वपूर्ण रणनीति बहु–लेबल प्रणाली थियो। एउटै कम्पनीअन्तर्गत विभिन्न कलाकार व्यवस्थापन गर्ने स्वतन्त्र प्रकृतिका सङ्गीत संस्थालाई राख्ने र उनीहरूलाई सिर्जनात्मक काममा निश्चित स्वायत्तता दिने अवधारणा अघि सारियो।
सन् २०१९ मा कम्पनीले सोर्स म्युजिक अधिग्रहण गर्यो। सन् २०२० मा प्लेडिस इन्टरटेनमेन्ट पनि हाइभको संरचनामा जोडियो। त्यसपछि कोज इन्टरटेनमेन्ट, बिलिफ ल्याब र एडोरजस्ता संस्थामार्फत कलाकार उत्पादन र व्यवस्थापनको दायरा विस्तार हुँदै गयो।
यसबाट कम्पनीले विभिन्न शैली, भाषा, उमेर समूह र बजारका लागि कलाकार विकास गर्ने अवसर प्राप्त गर्यो। बीटीएसजस्तो एउटै समूहमा अत्यधिक निर्भर रहनुभन्दा विविध कलाकार र सङ्गीत समूहबाट आम्दानी गर्ने संरचना तयार भयो।
हाइभअन्तर्गत विभिन्न समयमा लोकप्रियता हासिल गरेका कलाकार तथा समूहमा सेभेन्टिन, टुमोरो एक्स टुगेदर, इनहाइपेन, ले सेराफिम, न्युजिन्स, इलिट, ब्वाइनेक्स्टडोर र क्याट्सआईलगायत छन्। यी समूहको बजार, सङ्गीत शैली र प्रशंसक आधार फरक–फरक छ।
बहु-लेबल प्रणालीको अर्को उद्देश्य कलाकार उत्पादनमा हुने जोखिम बाँडफाँट गर्नु पनि थियो। एउटा समूहको लोकप्रियता घट्दा वा कुनै कलाकारको गतिविधि सीमित हुँदा कम्पनीको सम्पूर्ण आम्दानी प्रभावित नहोस् भन्ने व्यावसायिक सोच यसमा जोडिएको छ।
हाइभले सन् २०२१ मा अमेरिकी मनोरञ्जन बजारमा पनि ठूलो विस्तार गर्यो। अमेरिकी उद्यमी स्कुटर ब्राउनसँग सम्बन्धित इथाका होल्डिङ्स अधिग्रहण गरेर कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय पहुँच बढायो।
यसअन्तर्गत जस्टिन बिबर, एरियाना ग्रान्डेजस्ता कलाकारसँग सम्बन्धित व्यवस्थापन तथा मनोरञ्जन व्यवसाय जोडिएको थियो। पछि अमेरिकी बजारमा बिग मेसिन लेबल ग्रुप र क्युसी मिडियाजस्ता संस्थामार्फत पनि कम्पनीको उपस्थिति विस्तार भयो।
यसले हाइभलाई कोरियाली कलाकारको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने कम्पनीबाट अमेरिकी तथा अन्य देशका कलाकारको व्यवसायसमेत व्यवस्थापन गर्ने संस्थामा रूपान्तरण गर्न सहयोग गर्यो।
सन् २०२३ मा कम्पनीले ल्याटिन अमेरिकी बजारमा प्रवेश गर्ने रणनीति अघि बढायो। मेक्सिकोमा स्थानीय सङ्गीत बजारसँग सम्बन्धित संस्था अधिग्रहण तथा नयाँ कलाकार विकासमा लगानी गरियो। सन् २०२४ मा ल्याटिन अमेरिकी क्षेत्रमा आफ्नो गतिविधि थप विस्तार गर्ने उद्देश्यले स्थानीय कलाकार र नयाँ समूह उत्पादनको काम अघि बढाइयो।
अमेरिकी तथा ल्याटिन अमेरिकी बजारमा स्थानीय कलाकार विकास गर्ने रणनीतिले हाइभको व्यवसायलाई कोरियाली सङ्गीतमा मात्र निर्भर हुन नदिने उद्देश्य राखेको छ। सन् २०२५ मा भारतमा पनि स्थानीय मनोरञ्जन व्यवसाय विस्तारका लागि छुट्टै कम्पनी स्थापना गरिएको थियो।
यसरी हाइभले आफ्नो व्यावसायिक विस्तारलाई तीन तहमा अघि बढायो। पहिलो, आफ्नै कलाकार तथा सङ्गीत समूह विकास गर्ने। दोस्रो, स्थापित मनोरञ्जन संस्थासँग साझेदारी वा अधिग्रहण गर्ने। तेस्रो, स्थानीय बजारअनुसार नयाँ कलाकार र सङ्गीत उत्पादन गर्ने।
यसको परिणाम कम्पनीको कलाकार पोर्टफोलियोमा देखिन्छ। एउटै देश वा भाषाका कलाकारमा निर्भर नभई विभिन्न बजारका लागि फरक सङ्गीत उत्पादन गर्ने क्षमता विकास हुँदै गएको छ।
तर बहु–लेबल प्रणाली पूर्ण रूपमा विवादमुक्त भने छैन। कलाकारको सिर्जनात्मक स्वतन्त्रता, व्यवस्थापनको अधिकार, आम्दानी बाँडफाँट र बौद्धिक सम्पत्तिको स्वामित्वजस्ता विषयमा कम्पनीभित्र विवाद उत्पन्न भएका छन्।
विशेषगरी सन् २०२४ मा एडोर र न्युजिन्ससँग सम्बन्धित व्यवस्थापन विवादले हाइभको संस्थागत संरचना, कलाकारको स्वतन्त्रता र सहायक कम्पनीमाथिको नियन्त्रणबारे व्यापक बहस सिर्जना गरेको थियो।
यसले मनोरञ्जन व्यवसायमा कलाकारको लोकप्रियता मात्र पर्याप्त नहुने देखाउँछ। संस्थागत सुशासन, सिर्जनात्मक स्वतन्त्रता र व्यावसायिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नु पनि दीर्घकालीन सफलताका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
प्रशंसकलाई ग्राहक बनाउने डिजिटल रणनीति
हाइभको व्यवसायिक सफलताको सबैभन्दा फरक पक्ष प्रशंसकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने डिजिटल रणनीति हो। कम्पनीले कलाकारको लोकप्रियता बढाउन सामाजिक सञ्जाल प्रयोग गर्नुका साथै प्रशंसकलाई एउटै डिजिटल संरचनामा जोड्ने आफ्नै प्लेटफर्म विकास गर्यो।
त्यही प्लेटफर्म हो वेभर्स
सन् २०१९ मा सुरु भएको वेभर्स कलाकार र प्रशंसकबीच प्रत्यक्ष संवाद, सामग्री आदानप्रदान र समुदाय निर्माण गर्ने डिजिटल माध्यम हो। यसमा प्रशंसकले आफूले मन पराउने कलाकारको आधिकारिक सामग्री हेर्न, पोस्ट पढ्न, प्रतिक्रिया दिन र विभिन्न गतिविधिमा सहभागी हुन सक्छन्।
परम्परागत मनोरञ्जन व्यवसायमा कलाकार र प्रशंसकबीचको सम्बन्ध प्रायः कन्सर्ट, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमा सीमित हुन्थ्यो। वेभर्सले यो सम्बन्धलाई एउटै प्लेटफर्ममा व्यवस्थित गर्ने प्रयास गर्यो।
यसको व्यावसायिक महत्त्व पनि ठूलो छ। प्रशंसकले कलाकारको गतिविधिबारे जानकारी पाउने माध्यम मात्र नभई आधिकारिक सामग्री, सदस्यता, विशेष सुविधा र व्यापारिक वस्तु खरिद गर्ने बजार पनि यसैमा जोडियो।
वेभर्समार्फत कलाकारले आफ्ना प्रशंसकसँग प्रत्यक्ष संवाद गर्न सक्छन्।
प्रशंसकले कलाकारको आधिकारिक पोस्टमा प्रतिक्रिया दिन, विशेष सामग्री हेर्न र प्रत्यक्ष प्रसारणमा सहभागी हुन सक्छन्। यसले कलाकारको लोकप्रियतालाई नियमित डिजिटल गतिविधिसँग जोड्छ।
कम्पनीले वेभर्ससँगै वेभर्स सप पनि सञ्चालन गर्यो। यसबाट कलाकारका आधिकारिक उत्पादन, सङ्कलनयोग्य सामग्री, पोसाक, एल्बम र अन्य व्यापारिक वस्तु बिक्री गर्न सकिने व्यवस्था भयो।
सन् २०२२ मा हाइभले नेभरको भी लाइभ सेवा अधिग्रहण गरेर आफ्नो प्रत्यक्ष प्रसारण क्षमतालाई वेभर्ससँग जोड्यो। यसले कलाकार र प्रशंसकबीच प्रत्यक्ष भिडियो संवादको सुविधा थप बलियो बनायो।
वेभर्सको विस्तारले हाइभको व्यवसायिक सोचमा अर्को परिवर्तन ल्यायो। कम्पनीले प्रशंसकलाई केवल गीत किन्ने वा कन्सर्ट हेर्ने उपभोक्ताका रूपमा मात्र हेरेन। उनीहरूलाई कलाकारसँग निरन्तर जोडिने समुदायका सदस्यका रूपमा विकास गर्ने प्रयास गर्यो।
यसको परिणाम प्लेटफर्मको विस्तारमा देखिन्छ। वेभर्स कम्पनीको आधिकारिक विवरणअनुसार सन् २०२५ मा यसका मासिक सक्रिय प्रयोगकर्ता १ करोड २० लाख पुगेका थिए। यसको सेवा २४५ देश तथा क्षेत्रमा उपलब्ध छ। प्लेटफर्ममा १२० भन्दा बढी कलाकार आबद्ध रहेको र वार्षिक रूपमा २ करोडभन्दा बढी वेभर्स सप खरिद हुने विवरण कम्पनीले सार्वजनिक गरेको छ।
वेभर्समा प्रत्यक्ष प्रसारण, कलाकारका पोस्ट, प्रशंसकका प्रतिक्रिया र डिजिटल सदस्यताजस्ता सुविधा छन्। सन् २०२५ मा सुरु गरिएको लिसनिङ पार्टी सुविधाले कलाकार र प्रशंसकलाई एउटै समयमा संगीत सुन्ने र साझा अनुभवमा सहभागी हुने अवसर दिएको छ।
सन् २०२६ मा वेभर्सलाई विश्वका नवीनतम डिजिटल सामाजिक सञ्जाल तथा समुदाय निर्माण गर्ने प्लेटफर्ममध्ये एकका रूपमा मान्यता दिइएको थियो। यसको मुख्य आधार कलाकार र प्रशंसकबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने प्रयास हो।
वेभर्सको सफलताले मनोरञ्जन व्यवसायमा एउटा नयाँ सम्भावना देखाएको छ। कलाकारको लोकप्रियता सामाजिक सञ्जालमा सीमित नराखी आफ्नै डिजिटल प्लेटफर्ममा व्यवस्थित गर्न सकिन्छ। यसबाट ग्राहकसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुनुका साथै सदस्यता, व्यापारिक वस्तु र डिजिटल सेवाबाट आम्दानी गर्न सकिन्छ।
हाइभको दीर्घकालीन रणनीतिमा यो प्लेटफर्म विशेष महत्त्वपूर्ण छ। किनकि कलाकार परिवर्तन हुन सक्छन्, सङ्गीतको शैली बदलिन सक्छ र कुनै समूहको लोकप्रियता घट्न सक्छ। तर प्रशंसकसँग स्थापित डिजिटल सम्बन्ध र प्लेटफर्मको संरचना दीर्घकालीन व्यावसायिक सम्पत्ति बन्न सक्छ।
गीतदेखि कन्सर्ट र व्यापारिक सामग्रीसम्म
हाइभको आम्दानी संरचना बुझ्न यसको व्यवसायलाई प्रत्यक्ष र अप्रत्यक्ष कलाकार सहभागिताका आधारमा हेर्न सकिन्छ। प्रत्यक्ष सहभागितामा कलाकारले गीत उत्पादन, कन्सर्ट, प्रत्यक्ष प्रस्तुति र विज्ञापनमा भाग लिन्छन्। अप्रत्यक्ष सहभागितामा कलाकारको नाम, छवि, सङ्गीत, पात्र र बौद्धिक सम्पत्तिको प्रयोगबाट आम्दानी हुन्छ।
कम्पनीले यसलाई विभिन्न उत्पादन तथा सेवामा विस्तार गरेको छ। एल्बम, डिजिटल गीत, कन्सर्ट, विज्ञापन, व्यापारिक सामग्री, लाइसेन्स, भिडियो सामग्री र प्रशंसक सदस्यता यसका प्रमुख आम्दानीका स्रोत हुन्।
सन् २०२५ को वित्तीय विवरणले यसको व्यवसायिक संरचनामा आएको परिवर्तन स्पष्ट देखाउँछ। कम्पनीले त्यस वर्ष एल्बम तथा गीतबाट ७ खर्ब ७२ अर्ब ९६ करोड वन आम्दानी गरेको थियो। कन्सर्ट तथा प्रत्यक्ष कार्यक्रमबाट ७ खर्ब ६३ अर्ब ९५ करोड वन प्राप्त भयो। कलाकारसँग सम्बन्धित व्यापारिक सामग्री र लाइसेन्सिङबाट ५ खर्ब ७० अर्ब ५७ करोड वन आम्दानी भएको थियो।
भिडियो तथा अन्य सामग्रीबाट २ खर्ब ५८ अर्ब ८४ करोड वन, विज्ञापन तथा कलाकारको प्रस्तुतिबाट १ खर्ब ४७ अर्ब १५ करोड वन र प्रशंसक सदस्यता तथा अन्य सेवाबाट १ खर्ब ३६ अर्ब ३८ करोड वन आम्दानी भएको थियो।
यसबाट कम्पनीको आम्दानी गीत र एल्बममा मात्र निर्भर नरहेको स्पष्ट हुन्छ। सन् २०२५ मा व्यापारिक सामग्री तथा लाइसेन्सिङको आम्दानी अघिल्लो वर्षको तुलनामा ३५.८ प्रतिशत बढेको थियो। प्रशंसक सदस्यता तथा अन्य सेवाको आम्दानी पनि ३४ प्रतिशत बढेको थियो। कन्सर्टको आम्दानी ६९.४ प्रतिशतले वृद्धि भएको थियो।
अर्कोतर्फ, एल्बम तथा गीतबाट हुने आम्दानी १०.२ प्रतिशत घटेको थियो। यसले संगीत बजारको बदलिँदो स्वरूप पनि देखाउँछ। गीत र एल्बम बिक्रीमा उतारचढाव भए पनि प्रत्यक्ष कार्यक्रम र कलाकारसँग सम्बन्धित व्यापारिक वस्तुबाट आम्दानी बढाउन सकिने सम्भावना कम्पनीले देखाएको छ।
कन्सर्ट हाइभको व्यवसायको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ।
विश्वका विभिन्न देशमा हुने कार्यक्रमले टिकट बिक्री मात्र होइन, यात्रासँग सम्बन्धित खर्च, आधिकारिक सामग्री, प्रायोजन र स्थानीय बजारमा व्यापारिक गतिविधि पनि बढाउँछ।
एउटा लोकप्रिय समूहले कुनै देशमा कार्यक्रम गर्दा हजारौँ प्रशंसक सहभागी हुन सक्छन्। उनीहरूले टिकट, होटल, यातायात, खाना र अन्य सेवामा खर्च गर्छन्। यसले मनोरञ्जन व्यवसायलाई पर्यटन तथा स्थानीय अर्थतन्त्रसँग पनि जोड्छ।
कम्पनीको व्यापारिक सामग्रीको अर्को पक्ष कलाकारको पहिचानसँग सम्बन्धित उत्पादन हो। आधिकारिक पोसाक, तस्बिर कार्ड, सङ्कलनयोग्य सामग्री, खेलौना, विशेष संस्करणका एल्बम र अन्य उत्पादनले प्रशंसकको भावनात्मक सम्बन्धलाई बजारमा बदल्छन्।
यसरी हाइभले संगीतलाई एउटा उत्पादनमा सीमित नराखी त्यससँग सम्बन्धित सम्पूर्ण व्यावसायिक गतिविधिलाई एउटै संरचनामा समेटेको छ।
आम्दानीमा कीर्तिमान, नाफामा दबाब
हाइभको व्यावसायिक विस्तारको वास्तविक प्रभाव यसको वित्तीय विवरणमा देखिन्छ। कम्पनीले संगीत, कलाकार व्यवस्थापन, डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय बजारबाट आम्दानीका विभिन्न स्रोत विकास गरेको छ। तर आम्दानी बढ्नु र नाफा बढ्नु एउटै कुरा होइन भन्ने तथ्य पनि कम्पनीको पछिल्लो वित्तीय अवस्थाले देखाएको छ।
सन् २०२३ मा हाइभको कुल आम्दानी २१ खर्ब ७८ अर्ब ८ करोड वन थियो। सन् २०२४ मा यो बढेर २२ खर्ब ५५ अर्ब ६४ करोड वन पुग्यो। सन् २०२५ मा भने २६ खर्ब ४९ अर्ब ८७ करोड वन पुगेको थियो। तीन वर्षको अवधिमा कम्पनीको आम्दानीमा उल्लेखनीय विस्तार भएको छ।
यद्यपि आम्दानीको वृद्धिसँगै सञ्चालन खर्च पनि बढेको छ। सन् २०२३ मा कम्पनीको सञ्चालन नाफा २ खर्ब ९५ अर्ब ६४ करोड वन थियो। सन् २०२४ मा घटेर १ खर्ब ८४ अर्ब ४ करोड वन पुग्यो। सन् २०२५ मा भने ४९ अर्ब ९२ करोड वनमा सीमित भयो। अघिल्लो वर्षको तुलनामा सञ्चालन नाफा ७२.९ प्रतिशत घटेको थियो।
त्यस वर्ष कम्पनीले २ खर्ब ५६ अर्ब ६८ करोड वन खुद घाटासमेत व्यहोरेको थियो। यसको अर्थ आम्दानी बढे पनि लगानी, सञ्चालन खर्च र अन्य वित्तीय दबाबले नाफामा ठूलो असर पारेको थियो।
यो तथ्यले हाइभको सफलतालाई केवल बढ्दो आम्दानीका आधारमा मूल्यांकन गर्न नमिल्ने देखाउँछ। मनोरञ्जन व्यवसायमा कलाकार उत्पादन, विश्वव्यापी प्रचार, कन्सर्ट आयोजना, नयाँ बजार प्रवेश र डिजिटल प्रविधिमा ठूलो लगानी गर्नुपर्ने हुन्छ। यस्तो लगानीले तत्काल आम्दानी बढाए पनि नाफामा दबाब सिर्जना गर्न सक्छ।
तर सन् २०२६ मा कम्पनीको वित्तीय अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। नोभेम्बर ३ मा सार्वजनिक गरिएको तेस्रो त्रैमासिकको प्रारम्भिक वित्तीय विवरणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा हाइभले १५ खर्ब ३० अर्ब वन आम्दानी गरेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०९.८ प्रतिशत वृद्धि हो।
त्यसै अवधिमा कम्पनीको सञ्चालन नाफा १ खर्ब ८८ अर्ब ५० करोड वन पुगेको थियो। अघिल्लो वर्षको सोही त्रैमासिकमा ४२ अर्ब २० करोड वन सञ्चालन घाटा थियो। खुद नाफा पनि ११ अर्ब ३० करोड वन पुगेको थियो। कम्पनीका लागि यो अहिलेसम्मकै उच्च त्रैमासिक आम्दानी र सञ्चालन नाफा हो।
यस वृद्धिमा बीटीएसको विश्वव्यापी भ्रमणको ठूलो योगदान रहेको छ। तेस्रो त्रैमासिकमा कन्सर्टबाट मात्रै ७ खर्ब २६ अर्ब ८० करोड वन आम्दानी भएको कम्पनीले जनाएको छ। बीटीएसका अतिरिक्त सेभेन्टिन, इनहाइपेन, ले सेराफिम, न्युजिन्स, ब्वाइनेक्स्टडोर, टिडब्लुएस, इलिट, क्याट्सआई र कोरटिसजस्ता कलाकारका कार्यक्रमले पनि आम्दानी बढाउन सहयोग गरेका थिए।
कम्पनीको पहिलो नौ महिनाको कुल आम्दानी ३६ खर्ब ७४ अर्ब वन पुगेको थियो। यसले हाइभलाई सन् २०२६ मा ४० खर्ब वनभन्दा बढी वार्षिक आम्दानी गर्ने सम्भावनातर्फ अघि बढाएको छ।
यसले हाइभको व्यवसायिक मोडलमा दुईवटा महत्त्वपूर्ण पक्ष देखाउँछ। पहिलो, कलाकारको लोकप्रियता र प्रत्यक्ष प्रस्तुतिबाट ठूलो आम्दानी सिर्जना गर्न सकिन्छ। दोस्रो, एउटै समूहमा निर्भर नभई विभिन्न कलाकार, बजार र उत्पादनको संयोजनबाट व्यवसायलाई निरन्तर विस्तार गर्न सकिन्छ।
विश्वव्यापी विस्तार र नयाँ प्रतिस्पर्धा
हाइभले दक्षिण कोरियामा सफल भएको व्यवसायिक मोडललाई अन्य देशमा विस्तार गर्ने रणनीति अघि बढाएको छ। यसका लागि कम्पनीले स्थानीय कलाकार उत्पादन, अन्तर्राष्ट्रिय साझेदारी, विदेशी मनोरञ्जन संस्थामा लगानी र डिजिटल प्लेटफर्मको विस्तारलाई प्राथमिकता दिएको छ।
अमेरिकी बजार हाइभका लागि विशेष महत्त्वको छ। विश्वको ठूलो संगीत बजारमा प्रवेश गर्न कम्पनीले कलाकार व्यवस्थापन र संगीत उत्पादनमा संलग्न अमेरिकी संस्थासँग सम्बन्ध विस्तार गरेको छ। यसबाट कोरियाली कलाकारलाई अमेरिकी बजारमा पुर्याउने मात्र नभई अमेरिकी कलाकारको व्यवसायमा पनि सहभागी हुने अवसर प्राप्त भएको छ।
ल्याटिन अमेरिकी बजारमा कम्पनीले स्थानीय सङ्गीतको लोकप्रियता र बजारको सम्भावनालाई आधार बनाएको छ। मेक्सिकोमा कलाकार उत्पादन तथा व्यवस्थापनको संरचना विकास गरेर स्थानीय स्वादअनुसार संगीत सिर्जना गर्ने प्रयास भइरहेको छ।
सन् २०२५ मा दक्षिण अफ्रिकी मूलकी गायिका टायलासँग व्यवस्थापन सम्झौता गर्नु पनि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको उदाहरण हो। यसले हाइभले आफ्नो व्यवसायलाई के–पपमा मात्र सीमित नराखी विभिन्न देशका कलाकार र संगीत विधासम्म विस्तार गर्न खोजेको देखाउँछ।
यसको दीर्घकालीन रणनीति विश्वका विभिन्न बजारमा स्थानीय कलाकार विकास गर्दै अन्तर्राष्ट्रिय प्रशंसकसम्म पुग्ने हो। एउटै देशबाट गीत उत्पादन गरेर संसारभर बिक्री गर्ने पुरानो मोडलभन्दा स्थानीय बजारमा कलाकार उत्पादन गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय डिजिटल संरचनासँग जोड्ने सोच यसमा देखिन्छ।
हाइभले सन् २०२४ मा सार्वजनिक गरेको हाइभ २.० रणनीतिमा संगीत, डिजिटल प्लेटफर्म र प्रविधिमा आधारित भविष्यका व्यवसायलाई मुख्य प्राथमिकता दिएको थियो।
यसले कम्पनीको आगामी विकासको दिशा पनि स्पष्ट पारेको छ।
कम्पनीको रणनीतिक दस्तावेजमा संगीतको गुणस्तर, प्रशंसकको अनुभव र अन्तर्राष्ट्रिय बजारमा विस्तारलाई महत्त्व दिइएको छ। वेभर्सलाई के-पपमा सीमित नराखी विभिन्न विधाका कलाकार र प्रशंसकलाई जोड्ने विश्वव्यापी प्लेटफर्म बनाउने योजना पनि प्रस्तुत गरिएको छ।
यो रणनीतिले हाइभलाई परम्परागत मनोरञ्जन कम्पनीबाट प्रविधि र बौद्धिक सम्पत्तिमा आधारित विश्वव्यापी व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य राखेको देखिन्छ।
तर अन्तर्राष्ट्रिय विस्तारसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको छ। संगीत उद्योगमा कलाकारको लोकप्रियता स्थायी हुँदैन। नयाँ समूह आउँछन्, पुराना कलाकारको लोकप्रियता घट्न सक्छ र दर्शकको रुचि समयसँगै बदलिन्छ। यस्तो अवस्थामा कम्पनीले निरन्तर नयाँ प्रतिभा विकास गर्नुपर्ने हुन्छ।
अर्कोतर्फ, विश्वव्यापी मनोरञ्जन बजारमा कलाकारको अधिकार, प्रतिलिपि अधिकार, आम्दानी बाँडफाँट, डिजिटल सामग्रीको स्वामित्व र प्रशंसकको व्यक्तिगत विवरणको सुरक्षा महत्त्वपूर्ण विषय बनेका छन्।
हाइभका लागि पनि यी चुनौतीहरू दीर्घकालीन व्यवसायिक सफलतासँग जोडिएका छन्। कम्पनीले आफ्नो विस्तारलाई दिगो बनाउन कलाकारको सिर्जनात्मक स्वतन्त्रता, संस्थागत सुशासन र वित्तीय अनुशासनमा ध्यान दिनुपर्ने हुन्छ।
नेपाली मनोरञ्जन उद्योगका लागि सिकाइ
हाइभको व्यावसायिक यात्रा नेपालजस्ता साना अर्थतन्त्रका लागि पनि अध्ययनयोग्य छ। नेपालमा संगीत, चलचित्र, कलाकार व्यवस्थापन, डिजिटल सामग्री र मनोरञ्जनसँग सम्बन्धित व्यवसायको सम्भावना भए पनि यी क्षेत्रलाई अझै व्यवस्थित उद्योगका रूपमा विकास गर्न सकिएको छैन।
नेपाली संगीत बजारमा कलाकारको लोकप्रियता बढ्दै गएको छ। डिजिटल माध्यमबाट गीत सार्वजनिक गर्ने, भिडियो निर्माण गर्ने र विदेशमा रहेका नेपाली दर्शकसम्म पुग्ने अवसर पनि विस्तार भएको छ। तर कलाकारको लोकप्रियतालाई दीर्घकालीन व्यवसायमा रूपान्तरण गर्ने संरचना कमजोर छ।
कलाकारले गीत सार्वजनिक गरेपछि त्यसको आम्दानी प्रायः डिजिटल प्रसारण, कार्यक्रम र विज्ञापनमा निर्भर हुन्छ। कलाकारको नाममा आधिकारिक सामग्री, सङ्कलनयोग्य उत्पादन, सदस्यता, डिजिटल समुदाय र अन्य व्यावसायिक सेवा विकास गर्ने अभ्यास सीमित छ।
हाइभको मोडलले यस्ता क्षेत्रमा नयाँ सम्भावना देखाउँछ। कलाकारको सिर्जनात्मक कामलाई एउटै उत्पादनमा सीमित नगरी त्यससँग सम्बन्धित विभिन्न व्यवसाय विकास गर्न सकिन्छ। एउटा लोकप्रिय गीतबाट भिडियो, प्रत्यक्ष कार्यक्रम, आधिकारिक सामग्री, विज्ञापन, डिजिटल सदस्यता र अन्य उत्पादनसम्मको व्यावसायिक संरचना निर्माण गर्न सकिन्छ।
नेपालमा पनि लोकप्रिय कलाकारका प्रशंसकलाई व्यवस्थित डिजिटल समुदायमा जोड्न सकिन्छ। कलाकारको आधिकारिक सामग्री उपलब्ध गराउने, सदस्यता सेवा सञ्चालन गर्ने र व्यापारिक सामग्री बिक्री गर्ने संरचना विकास गर्न सकिन्छ। यसले कलाकारलाई आम्दानीका थप स्रोत उपलब्ध गराउन सक्छ।
अर्को महत्त्वपूर्ण पक्ष कलाकार व्यवस्थापन हो। नेपालमा धेरै प्रतिभाशाली कलाकार भए पनि उनीहरूको दीर्घकालीन करियर व्यवस्थापन, प्रशिक्षण, बजार विस्तार र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि व्यवस्थित संस्थागत संरचना आवश्यक छ।
हाइभले देखाएको बहु-लेबल प्रणालीबाट पनि सिक्न सकिन्छ। विभिन्न सङ्गीत विधा र कलाकारको फरक पहिचान कायम राख्दै एउटै व्यावसायिक संरचनाभित्र व्यवस्थापन गर्न सकिन्छ।
यसले कलाकारलाई सिर्जनात्मक स्वतन्त्रता दिने र कम्पनीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अवसर दिन्छ।
नेपालको मौलिक संगीत, लोकसंस्कृति, भाषा र सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने सम्भावना पनि छ। नेपाली कलाकारलाई विदेशमा रहेका नेपाली समुदायमा मात्र सीमित नराखी दक्षिण एसिया, पूर्वी एसिया, युरोप र अन्य बजारसम्म पुर्याउन सकिन्छ।
यसका लागि संगीत उत्पादनको गुणस्तर, अन्तर्राष्ट्रिय वितरण, प्रतिलिपि अधिकार संरक्षण, कलाकार व्यवस्थापन र डिजिटल प्रविधिमा लगानी आवश्यक हुन्छ।
हाइभको अर्को महत्त्वपूर्ण सिकाइ प्रशंसकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नु हो। कलाकारको लोकप्रियता सामाजिक सञ्जालमा प्राप्त हुने दृश्य संख्या वा प्रतिक्रियामा मात्र सीमित हुनु हुँदैन। प्रशंसकसँग प्रत्यक्ष संवाद, समुदाय निर्माण र आधिकारिक सेवाको विकासले दीर्घकालीन व्यावसायिक आधार तयार गर्न सक्छ।
तर हाइभको मोडल जस्ताको तस्तै नेपालमा लागू गर्न सम्भव छैन। बजारको आकार, लगानी क्षमता, प्रविधि, प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्था र उपभोक्ताको खर्च गर्ने क्षमता फरक छ। नेपालले आफ्नो बजार र सांस्कृतिक पहिचानअनुसार नयाँ व्यावसायिक संरचना विकास गर्नुपर्ने हुन्छ।
यसका लागि निजी क्षेत्रको लगानी, कलाकारको व्यावसायिक व्यवस्थापन र प्रविधिमा आधारित मनोरञ्जन उद्योग निर्माण आवश्यक छ।
संगीतभन्दा ठूलो व्यावसायिक सोच
हाइभको सफलताको कथा संगीत उद्योगमा लोकप्रिय कलाकार जन्माउने कथाभन्दा धेरै फराकिलो छ। यो एउटा सानो कलाकार व्यवस्थापन कम्पनीले आफ्नो व्यवसायिक अवधारणा परिवर्तन गर्दै विश्वव्यापी मनोरञ्जन व्यवसाय निर्माण गरेको यात्रा हो।
सन् २००५ मा बिग हिट इन्टरटेनमेन्टका रूपमा सुरु भएको कम्पनीले बीटीएसको सफलताबाट अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्यो। त्यसपछि कलाकार उत्पादन, मनोरञ्जन संस्था अधिग्रहण, डिजिटल प्लेटफर्म, व्यापारिक सामग्री, कन्सर्ट र विदेशी बजार विस्तारमार्फत आफ्नो व्यवसायलाई विविधीकरण गर्यो।
कम्पनीले प्रशंसकलाई केवल संगीतका उपभोक्ताका रूपमा हेरेन। उनीहरूसँग निरन्तर सम्बन्ध स्थापित गरेर विभिन्न सेवा र उत्पादनको बजार विकास गर्यो। यही रणनीतिले हाइभलाई परम्परागत कलाकार व्यवस्थापन कम्पनीभन्दा फरक बनाएको छ।
यद्यपि कम्पनीको यात्रा चुनौतीरहित छैन। सञ्चालन नाफामा आएको गिरावट, सहायक कम्पनीबीचका विवाद, कलाकार व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रतिस्पर्धाले यसको व्यवसायिक संरचनाको परीक्षा लिइरहेका छन्।
सन् २०२६ को तेस्रो त्रैमासिकमा देखिएको बलियो वित्तीय सुधारले कम्पनीको पुनरुत्थानको सम्भावना देखाए पनि दीर्घकालीन नाफा र स्थायित्व कायम गर्नु चुनौती नै रहनेछ।
हाइभले स्थापित गरेको व्यावसायिक मोडलको सबैभन्दा ठूलो विशेषता संगीतलाई एउटै उत्पादनका रूपमा नहेर्नु हो। संगीतसँग कलाकार, कलाकारसँग प्रशंसक, प्रशंसकसँग डिजिटल समुदाय र डिजिटल समुदायसँग व्यापारिक अवसर जोड्ने संरचना निर्माण गर्नु यसको सफलताको आधार बनेको छ।
कम्पनीको आगामी यात्रा पनि यही सोचमा निर्भर हुनेछ। नयाँ कलाकार उत्पादन, विभिन्न देशका बजारमा विस्तार, प्रविधिको प्रयोग र प्रशंसकसँगको सम्बन्धलाई बलियो बनाउँदै लैजान सके हाइभले मनोरञ्जन उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्न सक्छ।
एउटा सानो कलाकार व्यवस्थापन कम्पनीबाट सुरु भएको यो यात्रा आज संगीत, प्रविधि र विश्वव्यापी व्यापारको संगम बनेको छ। हाइभले देखाएको छ, कुनै पनि सिर्जनात्मक क्षेत्रलाई व्यवस्थित व्यावसायिक सोच, लगानी र बजार रणनीतिसँग जोड्न सकियो भने त्यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो स्थान बनाउन सक्छ।
