एजेन्सी । सवारीसाधनको बिक्रीमा आएको गिरावट, बढ्दो उत्पादन लागत र दक्षिणी जापानमा हालै गएको भूकम्पको प्रभावका कारण टोयोटाको सञ्चालन नाफा लगातार पाँचौं त्रैमासिक घट्ने अनुमान गरिएको छ।
एलएसईजीले सर्वेक्षण गरेका आठ विश्लेषकको औसत अनुमानअनुसार विश्वकै ठूलो अटो निर्माता टोयोटाले अप्रिल–जुन त्रैमासिकमा १.११ खर्ब येन सञ्चालन नाफा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५ प्रतिशत कम हो।
विश्लेषकहरूका अनुसार केही प्रमुख अन्तर्राष्ट्रिय बजारमा बिक्री घट्नु, मध्यपूर्वको द्वन्द्वका कारण आपूर्ति शृंखलाको लागत बढ्नु र उत्पादनमा आएको अवरोधले कम्पनीको आम्दानीमा असर परेको हो। पहिलो त्रैमासिकमा टोयोटा र लेक्सस ब्रान्डका गाडीको विश्वव्यापी बिक्री ३ प्रतिशतले घटेर २५ लाख युनिटभन्दा केही माथि सीमित भएको छ। चीन र मध्यपूर्वमा देखिएको तीव्र गिरावटले अमेरिकी बजारको सामान्य वृद्धि पनि ओझेलमा परेको छ।
गत साता जापानको क्युशु क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण आपूर्तिकर्ताको उत्पादन प्रभावित भएपछि टोयोटाले चारवटा आन्तरिक प्लान्टको उत्पादन अस्थायी रूपमा रोकेको थियो। तीमध्ये दुई प्लान्ट मुख्य गाडी एसेम्बली केन्द्र हुन्। क्षतिग्रस्त प्लान्ट कहिले पूर्ण रूपमा सञ्चालनमा फर्किन्छ भन्नेबारे अझै स्पष्ट जानकारी नभएको आपूर्तिकर्ता आइसिनले जनाएको छ।
बिक्रीतर्फ चीनमा २८ प्रतिशत र मध्यपूर्वमा करिब एकतिहाइले गिरावट आएको छ। सीएलएसएका अटो विश्लेषक क्रिस्टोफर रिक्टरले पहिलो त्रैमासिक कम्पनीको अपेक्षाभन्दा कमजोर रहने संकेत गरेका छन्। उनका अनुसार ओसिनिया र ल्याटिन अमेरिकामा पनि बीवाईडीसहित चिनियाँ ब्रान्डको आक्रामक विस्तारका कारण टोयोटाको बजार हिस्सा दबाबमा परेको छ।
मध्यपूर्वको द्वन्द्वले आल्मुनियम र नाफ्थाजस्ता कच्चा पदार्थको मूल्य बढाएको तथा ढुवानीमा अवरोध सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ। साथै, विश्वभर लोकप्रिय आरएभी४ एसयूभीको नयाँ संस्करण ल्याउने तयारीका कारण अमेरिकी बजारमा पनि कम्पनीले केही दबाब सामना गरिरहेको छ।
विश्लेषकहरूले अब चालु आर्थिक वर्षका लागि टोयोटाले सार्वजनिक गरेको ३० खर्ब येन सञ्चालन नाफाको लक्ष्य यथावत् राख्छ वा संशोधन गर्छ भन्ने विषयमा लगानीकर्ताको चासो केन्द्रित रहेको बताएका छन्।
