काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)ले हेलिकप्टर चार्टर उडानको नयाँ भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ ३० गते (१५ सेप्टेम्बर २०२६)देखि लागू हुने नयाँ दरअनुसार नेपाली नागरिकको उद्धार उडान र विदेशी पर्यटकका लागि छुट्टाछुट्टै भाडा निर्धारण गरिएको छ।
संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धन, स्पेयर पार्ट्स तथा प्रशासनिक खर्च बढेकाले हेलिकप्टर चार्टरको भाडा समायोजन गरिएको हो।
नेपाली उद्धार उडानमा दुर्गम जिल्लाको भाडा १६ लाख ५३ हजारसम्म
नेपाली नागरिकको उद्धार उडानका लागि जिल्ला र गन्तव्यअनुसार नयाँ भाडादर तोकिएको छ। यी सबै दरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएको छ।
काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर) तथा काभ्रेका लागि चार्टर भाडा १ लाख २८ हजार रुपैयाँ कायम गरिएको छ।
दुर्गम क्षेत्रमा भने भाडा उल्लेख्य रूपमा महँगिएको छ। दार्चुलाका लागि सबैभन्दा बढी १६ लाख ५३ हजार रुपैयाँ तोकिएको छ। हुम्लाको सिमिकोट र कैलालीको धनगढीका लागि १३ लाख ९९ हजार रुपैयाँ, मुगुका लागि १२ लाख ७२ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै ताप्लेजुङ, झापा र इलामका लागि ७ लाख ६३ हजार रुपैयाँ, सोलुखुम्बुका लागि ३ लाख ८२ हजार रुपैयाँ र ओखलढुंगाका लागि ३ लाख १८ हजार रुपैयाँ भाडा कायम गरिएको छ।
विदेशीका लागि लुक्ला ३०० डलर, अपि-सैपाल १५ हजार डलरसम्म
विदेशी पर्यटकका लागि हेलिकप्टर चार्टर भाडा अमेरिकी डलरमा निर्धारण गरिएको छ। यी दरमा पनि १३ प्रतिशत भ्याट थप लाग्नेछ।
नयाँ दरअनुसार लुक्ला–सुर्के–लुक्ला उडानको न्यूनतम भाडा ३०० अमेरिकी डलर तोकिएको छ। लुक्ला–खरीखोला, बुप्सा, घाट, गुमेला र चौरीखर्कका लागि ५०० डलर तथा पोखराबाट अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म ६०० डलर भाडा निर्धारण गरिएको छ।
एभरेष्ट क्षेत्रमा गन्तव्यअनुसार २ हजार ९०० देखि ५ हजार ३०० डलरसम्म र अन्नपूर्ण तथा धौलागिरि क्षेत्रमा १ हजार ७०० देखि ५ हजार १०० डलरसम्म चार्टर शुल्क लाग्नेछ।
सबैभन्दा महँगो उडान भने सुदूरपश्चिम र कर्णालीका दुर्गम क्षेत्रमा हुनेछ। अपि–सैपाल बेसक्याम्पका लागि १५ हजार डलर, लिमीका लागि १३ हजार ८०० डलर, हिल्साका लागि १३ हजार ५०० डलर, सिमिकोटका लागि १२ हजार डलर र राराका लागि ११ हजार डलर भाडा निर्धारण गरिएको छ।
संघका अनुसार अस्पतालमा हेलिकप्टर अवतरण वा प्रतिबन्धित क्षेत्रमा उडान गर्नुपरे थप २०० अमेरिकी डलर शुल्क लाग्नेछ। इन्धनको मूल्य र अमेरिकी डलरको विनिमय दरमा आउने परिवर्तनअनुसार भाडादर पनि पुनः समायोजन हुन सक्ने जनाएको
