काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नेपालपे कार्ड सेवा विस्तारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्न सक्नेछ।
औपचारिक कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड र रुपे कार्ड समेत स्वीकार गरी नेपालपे कार्डका कारोबार प्रशोधन गर्न सक्ने व्यवस्था हुनेछ।
एनसीएचएलका अनुसार ईएफटी कार्ड स्वीच राष्ट्रिय कार्ड प्रणाली नेशनल पेमेन्ट स्वीच–नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस) सँग एकीकृत भइसकेको छ। यससँगै नेपालपे कार्डलाई अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँग जोडिएकाले नेपालभित्र मात्र होइन, विदेशका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ।
हाल एनसीएचएलको ईएफटी सेवामार्फत ११ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबार प्रशोधन गर्दै आएका छन्। ईएफटी र राष्ट्रिय पेमेन्ट स्वीचबीचको एकीकरणपछि अब नेपालपे कार्डका कारोबार पनि यही प्रणालीमार्फत प्रशोधन हुनेछन्।
एनसीएचएलका अनुसार अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरू पनि नेपालपे कार्ड जारी तथा स्वीकार गर्ने तयारीमा छन्। हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे प्रणालीमा आबद्ध भएका छन्। तीमध्ये ८ संस्थाले नेपालपे कार्ड जारी गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले नेपालपे कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन्।
ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले देशभर रहेका १२१ शाखा, दुई एक्सटेन्सन काउन्टर र ७५ एटीएम मार्फत सेवा विस्तार गर्दै डिजिटल बैंकिङ र ग्राहक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
