काठमाडौं । चौधरी फाउन्डेसनको सहकार्यमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी सिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु गरेको छ। उद्योगको आवश्यकता अनुरूप प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवालाई दक्ष जनशक्ति बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
बजारको मागअनुसारका प्राविधिक सीप प्रदान गरी युवाको रोजगारी क्षमता अभिवृद्धि गर्ने, दिगो जीविकोपार्जनको आधार तयार गर्ने तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ।
एलजीका अनुसार शिक्षा र रोजगारीबीचको दूरी कम गर्दै युवालाई व्यावहारिक तथा प्रयोगात्मक सिकाइमार्फत उच्च माग भएका प्राविधिक क्षेत्रमा आवश्यक दक्षता प्रदान गरिँदै आएको छ।
सन् २०२४ देखि सञ्चालनमा रहेको कार्यक्रममा हालसम्म १६ वटा प्रशिक्षण ब्याच सञ्चालन भइसकेका छन्। पोलिटेक्निक, इलेक्ट्रिकल तथा मेकानिकल तालिममार्फत ३३२ जना सहभागीले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन् भने हाल सुरु भएको १६औँ ब्याचमा १८ जना सहभागी छन्।
प्रशिक्षण शुभारम्भ कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुन र चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले प्रशिक्षणको अवलोकन गरेका थिए।
कार्यक्रममा बोल्दै जेराल्ड सङ्घो चुनले युवा सशक्तीकरण र सीप विकासमा केन्द्रित साझेदारीलाई नयाँ चरणमा पुर्याउन पाएकोमा खुसी व्यक्त गरे। उनले सीप विकासमा गरिएको लगानीले युवालाई भविष्यका अवसरसँग जोड्ने विश्वास व्यक्त गरे।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले व्यावहारिक सीपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानीमध्ये एक भएको उल्लेख गर्दै एलजीसँगको सहकार्यले थप युवालाई रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताए। उनले दक्ष जनशक्ति उत्पादन र दिगो करियर निर्माणमा फाउन्डेसनको प्रतिबद्धता निरन्तर रहने पनि स्पष्ट पारे।
