काठमाडौं । पोखरास्थित नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालिले मेडिकल शिक्षा र अस्पताल सेवा विस्तारलाई व्यवसाय वृद्धिको मुख्य आधार बनाएको छ। कम्पनीले एमबीबीएसको विद्यार्थी भर्ना क्षमता बढाउनुका साथै अस्पतालका सेवा तथा पूर्वाधारमा थप लगानी गर्ने रणनीति अघि सारेको हो।
कम्पनीले एमबीबीएसको सिट संख्या यसअघिको १०० बाट बढाएर १२० पुर्याएको छ। बढाइएको सिटमा क्रमशः विद्यार्थी भर्ना हुँदै गएसँगै आगामी वर्षमा मेडिकल शिक्षाबाट हुने आम्दानी थप बढ्ने अपेक्षा कम्पनीले गरेको छ।
मेडिकल शिक्षासँगै अस्पताल सेवा पनि कम्पनीको व्यवसाय विस्तारको महत्वपूर्ण आधार बनेको छ। पोखरामा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको मेडिकल कलेज तथा अस्पताल परिसरमा ५०० शय्याको अस्पताल सञ्चालनमा छ। अस्पतालका विद्यमान पूर्वाधार स्तरोन्नति गर्नुका साथै नयाँ सेवा र सुविधा थप्ने कामलाई कम्पनीले निरन्तरता दिएको छ।
आइक्राको विवरणअनुसार पूर्वाधार तथा सेवा विस्तारसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको छ। यद्यपि अस्पतालको शय्या उपयोग दर आर्थिक वर्ष २०८०/८१ को करिब ५७ प्रतिशतबाट २०८१/८२ मा ५३ प्रतिशतमा झरेको छ। तर भर्ना हुने बिरामीको संख्या तथा प्रतिशय्या औसत आम्दानी बढेकाले अस्पताल व्यवसायको समग्र आम्दानीमा सुधार भएको छ।
विदेशी विद्यार्थीमा बढ्दो निर्भरता
मेडिकल शिक्षा व्यवसायको विस्तारमा विदेशी विद्यार्थीलाई कम्पनीले महत्वपूर्ण बजारका रूपमा लिएको छ। नेपाल मणिपालमा विदेशी विद्यार्थीको आकर्षण राम्रो रहेको र उनीहरूबाट नेपाली विद्यार्थीको तुलनामा बढी शुल्क प्राप्त हुने भएकाले यसले आम्दानी र नाफामा योगदान पुर्याउँदै आएको छ।
हालको कानुनी व्यवस्थाअनुसार आवश्यक छात्रवृत्ति सिट उपलब्ध गराउने मेडिकल कलेजले कुल सिटको ५० प्रतिशतसम्म विदेशी विद्यार्थीका लागि छुट्याउन सक्छन्। विदेशी एमबीबीएस विद्यार्थीबाट नेपाली विद्यार्थीको तुलनामा सामान्यतः ६० देखि ७० प्रतिशतसम्म बढी शुल्क लिन सकिने भएकाले विदेशी विद्यार्थीको निरन्तर आकर्षण कम्पनीको आम्दानी वृद्धिका लागि महत्वपूर्ण मानिएको छ।
दुई वर्षमै आम्दानी ७६ करोड बढ्यो
कम्पनीको पछिल्लो वित्तीय विवरणले पनि व्यवसाय विस्तारको गति देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा १५० करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी २०८०/८१ मा बढेर १८८ करोड ९० लाख रुपैयाँ पुगेको थियो।
त्यस्तै, २०८१/८२ मा सञ्चालन आम्दानी करिब २० प्रतिशतले बढेर २२७ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामै कम्पनीले १८९ करोड १० लाख रुपैयाँ आम्दानी गरिसकेको छ।
यसरी दुई आर्थिक वर्षको अवधिमा कम्पनीको वार्षिक सञ्चालन आम्दानी करिब ७६ करोड रुपैयाँले बढेको देखिन्छ।
आम्दानीसँगै खर्चको दबाब
व्यवसाय विस्तारसँगै कम्पनीको सञ्चालन खर्च पनि बढिरहेको छ। विशेषगरी जनशक्ति खर्च बढ्दा सञ्चालन नाफा अनुपात आर्थिक वर्ष २०८१/८२ को करिब २९ प्रतिशतबाट चालु आर्थिक वर्षको पहिलो नौ महिनामा २४ प्रतिशतमा झरेको छ।
यद्यपि, १२० सिटमा नयाँ विद्यार्थी भर्ना हुँदै गएपछि त्यसबाट थप आम्दानी हुने र बढ्दो खर्चको दबाब क्रमशः कम हुने अपेक्षा गरिएको छ।
कम्पनीले पछिल्ला वर्षमा मेडिकल कलेज तथा अस्पतालको पूर्वाधार विस्तारमा ठूलो पूँजीगत लगानी गरेको छ। नयाँ सेवा तथा सुविधा थप्दा विद्यार्थी र बिरामीको संख्या बढाउन सहयोग पुगे पनि यसले कम्पनीको नगद व्यवस्थापनमा भने दबाब सिर्जना गरेको छ।
अस्पतालतर्फ सरकारी स्वास्थ्य बीमा कार्यक्रमबाट प्राप्त हुनुपर्ने रकम उठ्न ढिलाइ हुँदा नगद प्रवाह प्रभावित हुन सक्ने जोखिम पनि रहेको आइक्राले औंल्याएको छ। अर्कोतर्फ विद्यार्थीबाट शैक्षिक वर्षको सुरुमै अग्रिम शुल्क उठ्ने र सो रकम अन्य प्रयोजन तथा पूँजीगत खर्चमा प्रयोग हुन सक्ने भएकाले आम्दानी र खर्चको समयबीच असन्तुलन हुन सक्ने देखिएको छ।
‘मणिपाल’ ब्रान्ड पनि महत्वपूर्ण
कम्पनीको आगामी व्यवसाय विस्तारमा ‘मणिपाल’ ब्रान्डको निरन्तरता पनि महत्वपूर्ण हुने देखिएको छ। भारतीय मणिपाल समूहले सन् २०२१ मा आफ्नो सम्पूर्ण स्वामित्व नेपाली लगानीकर्तालाई बिक्री गरिसकेको भए पनि कम्पनीले हालसम्म ‘मणिपाल’ नाम प्रयोग गर्दै आएको छ।
आइक्राले भविष्यमा ब्रान्ड प्रयोगको निरन्तरता वा त्यसमा आउने परिवर्तनले स्वदेशी तथा विदेशी विद्यार्थीको आकर्षणमा पार्न सक्ने प्रभावलाई निगरानी गर्नुपर्ने विषयका रूपमा उल्लेख गरेको छ।
सन् १९९४ देखि सञ्चालनमा रहेको नेपाल मणिपाल अहिले नेपाली लगानीकर्ताको स्वामित्वमा छ। कम्पनीमा अटोवेज समूहका प्रवर्द्धकको करिब ८३ प्रतिशत र बतास समूहका प्रवर्द्धकको करिब १७ प्रतिशत हिस्सा रहेको छ।
अब कम्पनीको वृद्धिको मुख्य आधार १२० एमबीबीएस सिटको पूर्ण उपयोग, विदेशी विद्यार्थीको आकर्षण कायम राख्ने क्षमता, ५०० शय्याको अस्पतालमा बिरामी संख्या र प्रतिबिरामी आम्दानी वृद्धि तथा नयाँ स्वास्थ्य सेवा र पूर्वाधार विस्तार हुने देखिएको छ।
