काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार एक्स्पोमा ५१ वटा स्टलमार्फत ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् । एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडल तथा सवारीसाधन सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ ।
प्रदर्शनीमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन राखिने आयोजकले जनाएको छ । दुईपाङ्ग्रे सवारीतर्फ १८ तथा चारपाङ्ग्रे सवारीतर्फ २९ नयाँ ब्रान्ड एक्स्पोमा सार्वजनिक हुनेछन् ।
नयाँ मोडलका सवारीसाधनको लन्चिङ, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा अटोमोबाइल उद्योगसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रम एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकको भनाइ छ ।
गत वर्ष आयोजित एक्स्पोमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । यसपटक भने गत वर्षको तुलनामा अझ बढी आगन्तुक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।
