काठमाडौँ । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ।
यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ ।
यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनको सहभागिता रहनेछ । यसका साथै ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्नेछन् ।
देशभरका अटो व्यवसायीहरूमाझ मेलालाई लिएर उत्साहजनक माहोल बनेकाले हालसम्म पनि स्टलका लागि अत्यधिक माग भइरहेको आयोजकले जनाएको छ । तर प्रदर्शनी स्थलमा उचित ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीहरूलाई स्टल उपलब्ध गराउन अप्ठ्यारो परिरहेको छ ।
स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहने यो अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
