काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सरकारको शंकाको घेरामा होइन, आर्थिक विकासको साझेदारका रूपमा अघि बढाउने बताएका छन्।
सोमबार २० ठूला स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनीका प्रमुखसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र देशको ठूलो करदाता, रोजगारदाता र लगानीकर्ता भएकाले यसको सफलतालाई नेपालको आर्थिक सफलतासँग जोडेर हेर्नुपर्ने बताए।
उनले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध कर असुलीमा मात्र सीमित हुन नहुने स्पष्ट पारे। उत्पादन बढाउने, लगानी विस्तार गर्ने, नाफा बढाउने र त्यही नाफा पुनः लगानीमा फर्काउने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
वाग्लेले नेपालमा कानूनी रूपमा गरिएको लगानी, सिर्जित सम्पत्ति र आर्जित नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। नियमको स्थिरता र कर प्रणालीमा पूर्वानुमेयता कायम भए लगानीकर्ताले ढुक्क भएर उद्योग विस्तार र नयाँ प्रविधिमा लगानी गर्न सक्ने उनको भनाइ थियो।
छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्रिप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एशियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लगायत २० ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए।
उद्योगीका समस्या सुने, ६ महिनाको कार्यसूची मागे
अर्थमन्त्रीले व्यवसायीहरूसँग कर प्रशासन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार र कानूनी व्यवस्थामा देखिएका अवरोधबारे प्रत्यक्ष जानकारी लिए। उनले आगामी ६ महिनाभित्र सरकारले गर्नुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे उद्योगीबाट ठोस सुझावसमेत मागेका छन्।
वाग्लेले प्राप्त सुझावलाई समाधानको कार्यसूची बनाएर अघि बढाउने प्रतिबद्धता जनाए। उठेका समस्या समाधानका लागि अर्थ मन्त्रालयमा रहेको ‘रेस्पोन्स डेस्क’मार्फत समयबद्ध अनुगमन र समन्वय गरिने उनले बताए।
उनका अनुसार निजी क्षेत्रसँगको संवाद एकपटकको औपचारिक बैठकमा सीमित हुने छैन। समस्या समाधान नभएसम्म संवाद र समन्वय जारी रहनेछ।
इमानदारीपूर्वक कर तिर्ने व्यवसायीलाई राष्ट्र निर्माणको साझेदारका रूपमा सामाजिक सम्मान दिलाउने वातावरण बनाउनु सरकारको दायित्व भएको वाग्लेले बताए। उद्योगी सफल हुँदा रोजगारी र उत्पादन बढ्ने तथा त्यसको प्रत्यक्ष लाभ राज्यको राजस्वमा समेत पुग्ने उनको तर्क छ।
उनले आगामी दशकलाई नेपालमा ठूलो लगानी, उत्पादन र आत्मविश्वासको दशक बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए।
