काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहकको बिक्रीपछिको सेवा र स्वामित्व अनुभवलाई लक्षित गर्दै देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
गुहेश्वरीस्थित साइमेक्स केयरमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कम्पनीका अनुसार अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकैसाथ लागू भएको छ।
अभियानले नियमित मर्मतसम्भार तथा सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र सवारीसाधनको स्वामित्व सुरक्षालाई एउटै प्याकेजमा समेटेको कम्पनीले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको अभियानले ग्राहकलाई बिक्रीपछि थप सुविधा दिने उद्देश्य राखेको छ।
अभियानअन्तर्गत ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा सेवा पहल अघि सारिएको छ। ‘केयर प्लस’मार्फत सवारीको नियमित मर्मतसम्भार तथा सर्भिसलाई प्राथमिकता दिइएको छ भने ‘कनेक्ट प्लस’अन्तर्गत स्मार्ट कनेक्टिभिटी सेवा उपलब्ध गराइनेछ। ‘प्रोटेक्ट प्लस’ले ग्राहकको स्वामित्व सुरक्षासँग सम्बन्धित सुविधालाई समेट्नेछ।
कम्पनीले एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स र शिखर इन्स्योरेन्ससँग सहकार्य गरी अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानको महत्त्वपूर्ण सुविधाअन्तर्गत सेप्टेम्बर २०२४ अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा यी सुविधा निःशुल्क उपलब्ध गराइनेछ।
त्यस्तै, योग्य बीवाईडी ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई थप सहज, सुरक्षित र सुविधाजनक बनाउने उद्देश्यले अभियान ल्याइएको हो।
साउन २७ देखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा ल्याइएको अभियानले बीवाईडीको बिक्रीपछिको सेवा प्रणालीलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ। बीवाईडीले सवारी बिक्रीसँगै ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई पनि आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ।
