Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

अर्थतन्त्र थला पर्दा ऋणको भारी ३० खर्ब नजिक !

अर्थतन्त्र थला पर्दा ऋणको भारी ३० खर्ब नजिक !
A A+ A-

काठमाडौं । सरकारले विकासका लागि स्रोत अभाव भएको भन्दै वर्षेनि ऋण उठाइरहेको छ । तर ऋणको आकार बढिरहँदा त्यसअनुसार पुँजी निर्माण, रोजगारी र उत्पादन विस्तार भने हुन सकेको छैन । उल्टै सरकारको ऋण तिर्ने दायित्व बढ्दै जाँदा विकास खर्चका लागि उपलब्ध वित्तीय ठाउँ साँघुरिँदै गएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो । अर्थात् एक वर्षमै सार्वजनिक ऋणको स्टक करिब ३ खर्ब ८ अर्ब ५० करोड रुपैयाँले बढेको हो । यो वृद्धिदर ११.२५ प्रतिशत हो ।

तर ऋण बढेको सम्पूर्ण रकम सरकारले नयाँ ऋण उठाएर थपेको भने होइन । यस वर्षको ऋण वृद्धिको ठूलो हिस्सा नेपाली रुपैयाँ कमजोर हुँदा विदेशी ऋणको मूल्य बढेका कारण सिर्जना भएको हो । कुल वृद्धिमध्ये १ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ मात्र खुद नयाँ ऋण परिचालनबाट थपिएको छ । बाँकी करिब १ खर्ब ६७ अर्ब रुपैयाँ विनिमयदरको प्रभावबाट थपिएको दायित्व हो ।

ऋणको आधाभन्दा बढी हिस्सा विदेशी, रुपैयाँ कमजोर हुँदा थपियो बोझ

असार मसान्तसम्मको कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ९९ अर्ब रुपैयाँ विदेशी ऋण र १३ खर्ब ७५ अर्ब रुपैयाँ आन्तरिक ऋण छ । कुल ऋणमा विदेशी ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत छ ।

यसको अर्थ सरकारले विदेशबाट लिएको ऋणको ठूलो हिस्सा विदेशी मुद्रामै तिर्नुपर्छ । नेपाली रुपैयाँ कमजोर हुँदै जाँदा नयाँ ऋण नलिए पनि पुरानो विदेशी ऋणको रुपैयाँमा देखिने दायित्व बढ्छ । गत वर्ष मात्रै विनिमयदरको उतारचढावले सरकारमाथि करिब १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको अतिरिक्त भार थपेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाउँछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य बढ्दा नेपाली रुपैयाँमा हिसाब गर्दा सरकारको ऋण दायित्व बढेको हो । विदेशी ऋण लिँदा जुन विनिमयदर थियो, फिर्ता गर्दा भने त्यतिबेलाको विनिमयदरअनुसार तिर्नुपर्ने भएकाले रुपैयाँ कमजोर हुँदा दायित्व बढ्ने उनको भनाइ छ ।

यो जोखिम नेपालका लागि नयाँ होइन । नेपाल राष्ट्र बैंकको पछिल्लो समष्टिगत आर्थिक प्रतिवेदनले पनि २०७२ को भूकम्प, राज्य पुनर्संरचना र कोभिड–१९ पछिका वर्षमा सार्वजनिक ऋण तीव्र रूपमा बढेको देखाएको छ । एक दशकअघि सार्वजनिक ऋण जीडीपीको २६.८४ प्रतिशत रहेकामा अहिले ४५.०७ प्रतिशत पुगेको छ ।

यसरी हेर्दा एक दशकमा ऋणको अनुपात करिब १८ प्रतिशत बिन्दुले बढेको छ । अर्थात् अर्थतन्त्रको आकार बढेको भए पनि त्यसको तुलनामा सरकारको ऋण दायित्व अझ तीव्र गतिमा बढिरहेको छ ।

ऋण उठाउने लक्ष्य पूरा गर्न नसक्दा पनि आन्तरिक बजारमै भर

सरकारले आर्थिक वर्ष २०८२/८३ मा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर वर्षको अन्त्यसम्म ४ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ मात्र उठाउन सक्यो । लक्ष्यको ७५.०७ प्रतिशत मात्रै ऋण परिचालन भएको हो ।

यसमा सबैभन्दा रोचक पक्ष विदेशी र आन्तरिक ऋण परिचालनबीचको ठूलो अन्तर हो । सरकारले ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा ३ खर्ब ५८ अर्ब ६७ करोड अर्थात् ९९.०८ प्रतिशत परिचालन गर्‍यो । तर २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ विदेशी ऋण उठाउने लक्ष्यमा जम्मा ८८ अर्ब ५० करोड रुपैयाँ मात्रै प्राप्त भयो । यो लक्ष्यको ३७.८८ प्रतिशत हो ।

यसले सरकार विकासका लागि उपलब्ध सहुलियतपूर्ण वैदेशिक स्रोत परिचालन गर्नसमेत कमजोर देखिएको संकेत गर्छ । विदेशी ऋणको ठूलो हिस्सा परियोजना कार्यान्वयनसँग जोडिएको हुन्छ । परियोजना अघि नबढ्दा ऋणको रकम आउँदैन । यही कारण विदेशी ऋणको लक्ष्य र वास्तविक प्राप्तिबीच ठूलो खाडल देखिएको हो ।

उता आन्तरिक ऋण भने सरकारले लगभग लक्ष्यकै हाराहारीमा उठाएको छ । यसको अर्थ सरकारको वित्तीय आवश्यकता पूरा गर्न घरेलु वित्तीय बजारमाथिको निर्भरता बढिरहेको छ ।

ऋण तिर्नै ३ खर्ब ८६ अर्ब, विकास खर्चको ठाउँ साँघुरिँदै

ऋण बढ्नुको अर्को गम्भीर पक्ष यसको साँवा–ब्याज तिर्ने दायित्व हो । गत आर्थिक वर्ष सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ३ खर्ब ८६ अर्ब २३ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल जीडीपीको ५.८५ प्रतिशत बराबर हो ।

यसमा ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ साँवा भुक्तानी र ७३ अर्ब ८२ करोड रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ । चालू आर्थिक वर्षमा यस्तो ऋण भुक्तानीका लागि सरकारले ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थशास्त्री दिल्लीराज खनालका अनुसार ऋणको साँवा–ब्याज भुक्तानी बढ्दै जाँदा सरकारको पुँजीगत खर्च गर्ने क्षमता खुम्चिँदै गएको छ । उनका अनुसार गत वर्ष सरकारको कुल राजस्वको करिब ३३ प्रतिशत ऋणको साँवा–ब्याज भुक्तानीमै छुट्याउनुपरेको थियो । राजस्व लक्ष्यअनुसार नउठ्ने र अनिवार्य खर्च कटौती गर्न नसकिने अवस्थामा ऋण नै वित्तीय व्यवस्थापनको प्रमुख आधार बन्दै गएको उनको विश्लेषण छ ।

यहीँबाट नेपालको ऋणको वास्तविक समस्या देखिन्छ । ऋणको मात्रा मात्रै हेर्दा नेपाल तत्काल ऋण संकटमा परेको निष्कर्ष निकाल्न मिल्दैन । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपालको सार्वजनिक ऋणलाई तत्कालका लागि दिगो र ऋण संकटको जोखिम न्यून रहेको बताउँदै आएको छ । तर IMF ले नै ऋण सेवाको तुलनामा राजस्वको अनुपात बढेको र छोटो अवधिको आन्तरिक ऋणको हिस्सा ठूलो भएकाले जोखिमतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि नेपालको सार्वजनिक ऋण दक्षिण एसियाका धेरै मुलुकको तुलनामा कम रहेको र अहिलेको अवस्थामा अतिरिक्त वित्तीय स्रोत परिचालन गर्ने केही ठाउँ बाँकी रहेको उल्लेख गरेको छ । तर ऋणको उपयोग उत्पादनशील क्षेत्रमा हुनुपर्ने उसको जोड छ ।

समस्या यही हो । ऋण लिएर पूर्वाधार, ऊर्जा, उद्योग, उत्पादन र रोजगारी बढाउन सकियो भने त्यो ऋण भविष्यको आम्दानीको आधार बन्न सक्छ । तर ऋण लिएर चालू खर्च, पुरानो ऋणको साँवा–ब्याज र अनुत्पादक क्षेत्रमा खर्च हुँदै गए त्यसले भविष्यको बजेटलाई थप दबाबमा पार्छ ।

सरकारले चालू आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याएको छ । त्यसमा पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्याइएको छ । अर्थात् विकास निर्माणमा खर्च हुने पुँजीगत बजेटको आकार र ऋण व्यवस्थापनसहित वित्तीय व्यवस्थाको रकम लगभग बराबरको अवस्थामा पुगेका छन् ।

यसले नेपालको सार्वजनिक वित्तको मूल प्रश्न अब ऋण कति छ भन्नेमा मात्र सीमित नरहेको देखाउँछ । प्रश्न ऋण लिएर के बनाइयो, कति रोजगारी सिर्जना भयो, उत्पादन कति बढ्यो र त्यसबाट भविष्यमा ऋण तिर्ने क्षमता कति निर्माण भयो भन्ने हो ।

ऋणको आकार ३० खर्ब नजिक पुगिसकेको छ । तर अर्थतन्त्रले त्यसअनुसार गति लिन नसके ऋणको भार क्रमशः विकासको स्रोत बन्ने होइन, विकासकै स्रोत खाइदिने अवस्थामा पुग्न सक्छ । अहिले नेपालको वित्तीय चुनौती यही मोडमा उभिएको छ ।

2