काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।
बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागका अनुसार पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी ई–पासपोर्ट उत्पादन हुन थालेको छ । यसअघि विभागको दैनिक उत्पादन क्षमता करिब १ हजार ५०० वटा मात्रै थियो ।
सेवाग्राहीले समयमै राहदानी पाउने व्यवस्था मिलाउन विभागले उत्पादन प्रणालीसँगै सेवा प्रवाहको क्षमता पनि विस्तार गर्दै आएको जनाएको छ । माग अझै बढ्न सक्ने भएकाले उत्पादन क्षमता थप वृद्धि गर्ने काम भइरहेको विभागको भनाइ छ ।
हाल ई–पासपोर्ट सेवा काठमाडौंमा मात्र सीमित छैन । देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ । विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित नेपाली नियोगमार्फत समेत ई–पासपोर्ट सेवा लिन सक्ने व्यवस्था छ ।
विभागले राहदानी उत्पादन तथा वितरण प्रणालीमा देखिन सक्ने प्राविधिक समस्या समाधानलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । सेवा प्रवाहका क्रममा देखिएका समस्या समाधान गर्दै आगामी तीन महिनाभित्र प्रणालीलाई थप स्थिर बनाउने गरी प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागले जनाएको छ ।
प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागको भनाइ छ । विभागले ई–पासपोर्ट सेवा थप छिटो, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित उत्पादन तथा वितरण प्रणाली सुधारलाई अघि बढाएको जनाएको छ ।
