भैरहवा। रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्ने क्रम बढेको छ। निर्यातसम्बन्धी प्रावधान खुकुलो बनाउनुका साथै औद्योगिक प्लटको भाडादर घटाइएपछि सेजमा उद्योगीको आकर्षण बढेको हो।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी दिनेश न्यौपानेका अनुसार पछिल्ला तीन वर्षमा भैरहवा सेजमा ११ नयाँ उद्योग थपिएका छन्। २०८१ चैत १८ मा सेज ऐनको तेस्रो संशोधनपछि उद्योग स्थापनाको क्रम थप तीव्र भएको उहाँले बताउनुभयो।
संशोधित व्यवस्थाले अनिवार्य निर्यातको सीमा घटाएको छ। अब उद्योग सञ्चालनको पहिलो तीन वर्ष निर्यात अनिवार्य छैन। चौथो वर्ष १५ प्रतिशत र त्यसपछि ३० प्रतिशत उत्पादन निर्यात गरे पुग्ने व्यवस्था छ। यसअघि ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान थियो।
यस्तै, सेजको जग्गा भाडा प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरिएको छ। सुरुवातमा प्रतिवर्गमिटर १५० रुपैयाँ रहेको भाडा पहिलो संशोधनमार्फत २० रुपैयाँमा झारिएको थियो।
५२ बिघा क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६८ औद्योगिक प्लट छन्। तीमध्ये करिब ८० प्रतिशतमा उद्योग स्थापना भइसकेका छन् भने बाँकी प्लट पनि नयाँ उद्योगका लागि बुकिङ भइसकेको प्राधिकरणले जनाएको छ।
हाल सेजमा १२ उद्योग सञ्चालनमा, ६ निर्माणाधीन र एक बन्द अवस्थामा छन्। पछिल्ला तीन वर्षमा पाँच उद्योग उत्पादनमा गएका छन्।
सेजमा खानीजन्य पदार्थ प्रशोधन, स्टिलका भाँडा, एलईडी सामग्री, ग्रेनाइट, मेटल तथा प्लास्टिक रिसाइक्लिङ, फर्नेस आयल र कार्पेट उत्पादन भइरहेका छन्। निर्माणाधीन उद्योगले विद्युतीय साइकल तथा स्कुटर, धातु प्रशोधन, गार्मेन्ट, सर्टका बटन, डग च्यु, कम्ब, कृत्रिम गहना र डाटा सेन्टर सञ्चालन गर्ने तयारी गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ यता सेजबाट ७ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ बराबरको उत्पादन बिक्री भएको छ। त्यसमध्ये ४ अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात र ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ बराबरको आन्तरिक बिक्री भएको छ। आव २०८२/८३ मा मात्रै साढे दुई अर्ब रुपैयाँभन्दा बढीको उत्पादन बिक्री भएको प्राधिकरणले जनाएको छ।
सेजमा उद्योग स्थापनाका लागि आयकर, भन्सार र मूल्य अभिवृद्धि करलगायतमा विभिन्न छुट तथा सहुलियतको व्यवस्था छ। उद्योगीहरूले भने सेजमै छुट्टै विद्युत् सबस्टेसन, थप निर्यातमैत्री वातावरण र भारतलगायत छिमेकी मुलुकसँग व्यापार सहजीकरण गर्नुपर्ने माग गरेका छन्।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण पराजुलीले नीतिगत सुधारले उद्योग विस्तार, उत्पादन विविधीकरण, निर्यात वृद्धि र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
नेपाल–भारत सीमाबाट करिब चार किलोमिटर दूरीमा रहेको भैरहवा सेजबाट उत्पादित वस्तु छोटो दूरीमै भन्सार पुर्याउन सकिने भएकाले निर्यातको समय र लागत घटाउन सकिने उद्योगीको भनाइ छ।
