काठमाडौं । चीनको लक्जरी अटोमोबाइल ब्रान्ड होङ्चीको नयाँ इलेक्ट्रिक एसयूभी ई–एचएस४ नेपालमा सार्वजनिक भएको छ। बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइल प्रालिले ई–एचएस४ सार्वजनिक गरेको हो।
कम्पनीले ई–एचएस४ को नियमित मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ। तर, नाइमा मोबिलिटी एक्स्पोको विशेष अफरअन्तर्गत ग्राहकले यो एसयूभी ५७ लाख ९९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्।
होङ्ची चीनको फर्स्ट अटोमोबाइल वर्क्स (एफएडब्ल्यू) ग्रुपअन्तर्गतको लक्जरी ब्रान्ड हो। सुरुवाती चरणमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी तथा राज्यका अतिथिका लागि मात्र गाडी उत्पादन गर्ने होङ्चीले पछिल्लो समय सर्वसाधारणका लागि लक्जरी कार तथा विद्युतीय सवारी उत्पादन विस्तार गर्दै आएको छ।
४६० किलोमिटरभन्दा बढी रेन्ज, २० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज
होङ्ची ई–एचएस४ मा ६७.१ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक दिइएको छ। कम्पनीका अनुसार डब्लूएलटीपी परीक्षण मापदण्डअनुसार यसले एकपटकको चार्जमा ४६० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ।
गाडीमा १६० किलोवाट क्षमताको विद्युतीय मोटर छ, जसले अधिकतम २४० एनएम टर्क उत्पादन गर्छ। तीव्र चार्जिङ प्रणालीमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने कम्पनीले जनाएको छ।
ब्याट्रीलाई आईपी६७ सुरक्षा तह प्रदान गरिएको छ भने चार्जिङ भोल्टेज ४०४.४ भोल्ट रहेको छ। ई–एचएस४ मा ३.३ किलोवाटसम्मका बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने सुविधा पनि उपलब्ध छ।
सामान राख्नका लागि गाडीको पछाडिको भागमा ३९३ लिटर क्षमताको बुट स्पेस रहेको छ। पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने क्षमता बढेर १ हजार ३०० लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।
सुरक्षातर्फ ई–एचएस४ मा विद्युतीय स्थिरता नियन्त्रण, एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) र इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) लगायतका सुविधा दिइएको छ।
गाडीको लम्बाइ ४ हजार ५२० मिलिमिटर, चौडाइ १ हजार ८७३ मिलिमिटर र उचाइ १ हजार ६४७ मिलिमिटर रहेको छ।
