स्याङ्जा। पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा ५४.६४ प्रतिशत वित्तीय प्रगति गरेको छ।
कार्यालयले १ अर्ब ९ करोड ८१ हजार ८३ रुपैयाँ बजेटमध्ये ५९ करोड ५६ लाख ७१ हजार ७८० रुपैयाँ खर्च गरेको हो।
कार्यालयका अनुसार प्रदेशका ११६ र संघका पाँच गरी १२१ योजनामध्ये ६१ योजना सम्पन्न, ५३ निर्माणाधीन र सात योजनाको काम हुन सकेन।
यस अवधिमा चार मोटरेबल र चार झोलुङ्गे पुल निर्माण भएका छन्। त्यस्तै, ९.५ किलोमिटर सडक कालोपत्रे, ७.७ किलोमिटर ढलान, पाँच किलोमिटर ग्राभेल र ३०.३ किलोमिटर नाला निर्माण गरिएको छ।
सडक निर्माणमा ढिलाइ गर्ने दुई ठेकेदारको २ करोड १६ लाख रुपैयाँ धरौटी सरकारी खातामा तानिएको कार्यालयले जनाएको छ।
यातायात व्यवस्था कार्यालयमार्फत सवारी नवीकरण, २४५ जाँचपास र ५३४ रुट परमिटबाट ११ करोड ७६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
महँगी, निर्माण सामग्रीको मूल्यवृद्धि, निर्वाचन तथा जेनजी आन्दोलनका कारण अपेक्षित प्रगति हासिल गर्न नसकिएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए।
