एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानको सम्भावित आक्रमण रोक्न यूएईका बैंकमा रोक्का रहेको इरानी सम्पत्ति फुकुवा गरेको दाबी गरिएको छ ।
द हर्मुज लेटरले वरिष्ठ इरानी स्रोतलाई उद्धृत गर्दै यूएईले २८ करोड ३० लाख डलर मूल्य बराबरको २ टन सुनसहित अर्बौं डलरका अन्य सम्पत्ति इरानलाई फिर्ता गरेको जनाएको छ ।
यो दाबी बिहीबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक भएको हो । यद्यपि, यूएई वा अमेरिकाले भने यसको आधिकारिक पुष्टि गरेका छैनन् ।
रिपोर्टअनुसार उक्त सम्पत्ति यूएईस्थित रोयल जेटले सञ्चालन गर्ने बोइङ ७३७–७केके बीबीजे विमानमार्फत इरान लगिएको थियो । विमानले मंगलबार र बुधबार अबु धाबीबाट तेहरानको मेहराबाद विमानस्थल र करजस्थित पायम विमानस्थलसम्म उडान गरेको बताइएको छ ।
क्ल्यास रिपोर्टले सार्वजनिक गरेको उडान विवरणअनुसार अगस्ट ११ मा विमान तेहरान क्षेत्रमा करिब एक घण्टा बसेको थियो । अगस्ट १२ मा भने तेहरानबाट करिब ४० किलोमिटर पश्चिममा रहेको करजको पायम विमानस्थलमा करिब ३० मिनेट बसेर फर्किएको थियो ।
यद्यपि, उडान विवरणले विमान इरान पुगेको पुष्टि गरे पनि त्यसमा इरानी रकम वा सुन नै लगिएको थियो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यसअघि गत जुनमा रोयटर्सले पनि यूएईले तनाव कम गर्न इरानका लागि अर्बौं डलर फुकुवा गर्न सहमति जनाएको रिपोर्ट सार्वजनिक गरेको थियो । रोयटर्सका अनुसार यूएई १० देखि २० अर्ब डलरसम्म फुकुवा गर्न सहमत भएको र त्यसमध्ये ३ अर्ब डलरभन्दा बढी रकम पठाइसकिएको दाबी गरिएको थियो ।
तर, उक्त रकम यूएईको आफ्नै सम्पत्ति हो वा यूएईमा रोक्का रहेको इरानी सम्पत्ति हो भन्ने स्पष्ट थिएन । त्यतिबेला स्रोतहरूले रकम फुकुवाको उद्देश्य यूएईमाथि हुन सक्ने इरानी मिसाइल तथा ड्रोन आक्रमण रोक्नु र दुई देशबीचको सम्बन्ध सुधार गर्नु रहेको बताएका थिए ।
यूएईले भने त्यतिबेलाका रिपोर्टलाई झूटो र निराधार भन्दै अस्वीकार गरेको थियो । यूएईको विदेश मन्त्रालयले कुनै पनि रोक्का इरानी रकम फुकुवा वा हस्तान्तरण नगरिएको जनाएको थियो ।
पछिल्लो दाबीबारे पनि यूएईले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
