काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा १८ लाख ५० हजार रुपैयाँदेखि ३३ लाख ९९ हजार रुपैयाँसम्मका विद्युतीय कारले विशेष आकर्षण बढाएका छन् । एक्स्पोमा करिब ३ करोड रुपैयाँसम्मका विलासी कारसमेत प्रदर्शनमा राखिए पनि सीमित बजेटमा ईभी खोज्ने ग्राहकका लागि ७ मोडल तुलनात्मक रूपमा सस्ता देखिएका छन् । यीमध्ये सबैभन्दा सस्तो भोल्ट्स हो भने सबैभन्दा महँगो टाटा पञ्च ईभी हो ।
१८ लाख ५० हजारमै भोल्ट्स
एक्स्पोमा राखिएका कारमध्ये सबैभन्दा कम मूल्यको मोडल भोल्ट्स हो । हेनरी भोल्ट्स ब्रान्डका विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेता एस क्युव इन्टरप्राइजेजले यसको मूल्य १८ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
भोल्ट्समा ३५ किलोवाटको इलेक्ट्रिक मोटर र १७ किलोवाट आवरको ब्याट्री प्याक छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा अधिकतम २०० किलोमिटरसम्म रेन्ज दिन्छ । सहरभित्रको दैनिक आवतजावतलाई लक्षित गरिएको यो मोडल एक्स्पोको सबैभन्दा कम मूल्यको कार बनेको छ ।
१९ लाख ९९ हजारको विलिङ मिनी ईभी
सस्तो कारको सूचीमा दोस्रो स्थानमा विलिङ मिनी ईभी छ । नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसको सुरुवाती मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसको लङ रेन्ज भेरियन्टको मूल्य भने २१ लाख ९९ हजार रुपैयाँ छ ।
मिनी ईभीमा ३० किलोवाटको मोटर तथा १६.२ र २५.१ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन् । कम्पनीका अनुसार यी ब्याट्रीले क्रमशः २०५ र ३०१ किलोमिटरसम्म रेन्ज दिन्छन् ।
२० लाख ९९ हजारमा होनरी बोमा
होनरी अटोमोबाइलअन्तर्गतको भीअटो होनरी बोमा ईभी पनि २० लाख रुपैयाँको आसपासमै उपलब्ध छ । नेपालमा यसको आधिकारिक बिक्रेता जेननेक्स्ट मोटर्सले सुरुवाती मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
यसमा ३५ किलोवाटको इलेक्ट्रिक मोटर र २९.९ किलोवाट आवरको ब्याट्री प्याक छ । कम्पनीले एकपटक पूर्ण चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ ।

२८ लाख ९९ हजारको टाटा टियागो ईभी
टाटा मोटर्सको नयाँ फेसलिफ्ट टियागो ईभी पनि एक्स्पोमा सस्तो मूल्यको विकल्प बनेको छ । सिप्रदी ट्रेडिङले यसको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ ।
टियागो ईभीमा ५५ किलोवाटको मोटर र २४ किलोवाट आवरको ब्याट्री प्याक छ । सुरक्षातर्फ डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोललगायत सुविधा छन् ।
३० लाख ७५ हजारको बीवाईडी एट्टो १
बीवाईडीको नयाँ पुस्ताको एट्टो सिरिजअन्तर्गत एट्टो १ पनि एक्स्पोमा राखिएको छ । साइमेक्स इंकले यसको डाइनामिक भेरियन्टको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकेको छ ।
एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा उपलब्ध छ । प्रिमियममा अटो फोल्ड ओआरभीएमसमेत दिइएको छ । मूल्यका आधारमा डाइनामिक भेरियन्ट सस्ता ईभीको सूचीमा पाँचौँ स्थानमा पर्छ ।
३१ लाख ९९ हजारको लीपमोटर टी०३
लीपमोटरको इन्ट्री लेभल ह्याचब्याक टी०३ को नयाँ भेरियन्ट ३१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । सांग्रिला मोटर्सले ५० किलोवाट मोटर भएको यो भेरियन्ट सार्वजनिक गरेको हो । यो कम्पनीले बिक्री गर्दै आएको ७० किलोवाट मोटर भएको टी०३ भन्दा २ लाख रुपैयाँ सस्तो हो ।
टी०३ मा ३७.३ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार यसले सीएलटीसी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ४०३ किलोमिटरसम्म रेन्ज दिन्छ ।
सुरक्षातर्फ यसमा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र लेन किपिङ असिस्टलगायत सुविधा यसमा छन् । एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले एक वर्षको बीमा र सडक कर निःशुल्क दिने जनाएको छ ।
३२ लाख ९९ हजारको अफरमा टाटा पञ्च ईभी
सामान्य मूल्यका आधारमा सूचीको सातौँ स्थानमा टाटा पञ्च ईभी छ । यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाइमा एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
सिप्रदी ट्रेडिङले एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ ।
मूल्य हेर्दा सबैभन्दा सस्तो कुन ?
एक्स्पोमा सार्वजनिक मूल्यलाई आधार मान्दा १८ लाख ५० हजार रुपैयाँको भोल्ट्स सबैभन्दा सस्तो कार हो । त्यसपछि १९ लाख ९९ हजारको विलिङ मिनी ईभी, २० लाख ९९ हजार ९९९ रुपैयाँको होनरी बोमा, २८ लाख ९९ हजारको टाटा टियागो ईभी, ३० लाख ७५ हजारको बीवाईडी एट्टो १, ३१ लाख ९९ हजारको लीपमोटर टी०३ र ३३ लाख ९९ हजारको टाटा पञ्च ईभी क्रमशः महँगा छन् ।
यसरी हेर्दा नाइमा एक्स्पोमा २० लाख रुपैयाँ आसपासमै तीनवटा विद्युतीय कार उपलब्ध छन् । ३० लाख रुपैयाँभन्दा कम बजेटमा पनि दुईवटा थप विकल्प छन् । विशेषगरी प्रारम्भिक मूल्य, ब्याट्री क्षमता र कम्पनीले दाबी गरेको रेन्ज तुलना गर्दा एक्स्पोमा सस्तो ईभीको प्रतिस्पर्धा मूल्यमा मात्र सीमित छैन, रेन्ज र प्रविधिमा समेत देखिएको छ ।
