काठमाडौं। प्रभु बैंक गत आर्थिक वर्ष २०८२/८३ मा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक गत वर्ष घाटामा गएको हो।
बैंकको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको एनपीएल गत वर्ष बढेर १५.५५ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै बैंकले गत वर्ष ४ अर्ब ९४ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गरेको छ। अघिल्लो वर्ष यस्तो प्रोभिजनिङ २ अर्ब ४० करोड रुपैयाँ थियो।
उच्च प्रोभिजनिङका कारण बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक भएको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्षको ३ रुपैयाँ ७१ पैसाबाट घटेर गत वर्ष ६ रुपैयाँ ५६ पैसा ऋणात्मक भएको छ।
यद्यपि बैंकको खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले बढेर ९ अर्ब २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १९ करोड ७९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकले २ अर्ब २१ करोड ७३ लाख रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १५ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ रहेको छ।
गत असारसम्म बैंकको निक्षेप संकलन १.७१ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। तर, कर्जा लगानी ४.८३ प्रतिशतले घटेर २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६७.८६ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष १५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ९२ पैसा छ। बैंकको टायर–वान क्यापिटल एडिक्वेसी रेसियो ८.८३ प्रतिशतबाट घटेर ८.१७ प्रतिशतमा आएको छ भने समग्र क्यापिटल एडिक्वेसी रेसियो ११.८३ प्रतिशत कायम भएको छ।
