Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

तेस्रो मुलुक हुँदै भन्सार छल्दा अमेरिकालाई २६ अर्ब डलरसम्म घाटा

अ+ अ-

एजेन्सी । अमेरिकी भन्सार शुल्क छल्न तेस्रो मुलुकमार्फत सामान पठाउने प्रवृत्तिले अमेरिकालाई वार्षिक १९ अर्बदेखि २६ अर्ब डलरसम्मको राजस्व घाटा भइरहेको अमेरिकी प्रशासनको नयाँ रिपोर्टले देखाएको छ। रिपोर्टले विशेषगरी चीनबाट उत्पादित वस्तु अन्य मुलुक हुँदै अमेरिकी बजारमा प्रवेश गराउने अभ्यास बढेको दाबी गरेको छ। यस्तो कारोबारले अमेरिकी उत्पादन र रोजगारीमा दबाब बढाउनुका साथै व्यापार नीतिको प्रभावसमेत कमजोर बनाइरहेको प्रशासनको निष्कर्ष छ।

अमेरिकी प्रशासनका अनुसार चीनले सन् २०१८ पछि बढेको भन्सार शुल्कबाट बच्न मेक्सिको, मलेसियालगायत विभिन्न मुलुकलाई सामानको प्याकेजिङ र सामान्य एसेम्बलीका लागि प्रयोग गर्दै आएको छ। यसरी वस्तुको अन्तिम उत्पत्ति परिवर्तन भएको देखाएर अमेरिकी बजारमा प्रवेश गराउने अभ्यासलाई ट्रान्सशिपमेन्टका रूपमा हेरिएको छ।

यसको असर अमेरिकी आयात तथ्यांकमा समेत देखिएको रिपोर्टको दाबी छ। कागजमा चीनबाट अमेरिकातर्फ हुने आयात घटेको देखिए पनि चिनियाँ उत्पादन क्षमता र निर्यात गतिविधि भने निरन्तर विस्तार भइरहेको अमेरिकी पक्षको भनाइ छ। यसले अमेरिकी उद्योग, कारखाना र रोजगारीमाथि प्रतिस्पर्धात्मक दबाब बढाएको बताइएको छ।

ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नाभारोले चीनले ४० भन्दा बढी मुलुक प्रयोग गरेर आफ्नो निर्यातको उत्पत्ति लुकाउने गरेको आरोप लगाएका छन्। उनका अनुसार वर्षौंदेखि चलिरहेको यस्तो अभ्यासले अमेरिकी भन्सार नीतिको प्रभाव घटाउँदै चीनलाई अप्रत्यक्ष रूपमा अमेरिकी बजारमा पहुँच विस्तार गर्न सहयोग गरिरहेको छ।

सरकारी तथा निजी क्षेत्रका तथ्यांकलाई आधार बनाइएको रिपोर्टअनुसार वार्षिक ३४ अर्ब २० करोडदेखि ३०३ अर्ब डलरसम्मका सामान तेस्रो मुलुकमार्फत अमेरिकी बजारमा प्रवेश गरिरहेको अनुमान छ। यही ठूलो कारोबारलाई नियन्त्रण गर्न अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले कृत्रिम बुद्धिमत्तामा आधारित निगरानी प्रणालीको प्रारम्भिक कार्यक्रमसमेत अघि बढाएको छ।

अमेरिकी प्रशासन अब आयातकर्ताले सामानको वास्तविक उत्पत्ति लुकाएको प्रमाणित भए विगतका आयातसमेत पुनः परीक्षण गरी भन्सार शुल्क असुल्ने तयारीमा छ। नाभारोका अनुसार गलत विवरण दिएर भन्सार छलिएको पाइएमा करिब एक वर्षअघिसम्मका कारोबारमा समेत पछाडि फर्किएर शुल्क असुल गर्न सकिने व्यवस्था प्रयोग गरिनेछ।

यो कदम चीनमा मात्र सीमित नहुने संकेत पनि अमेरिकी प्रशासनले दिएको छ। नाभारोले भारतलगायत अन्य मुलुकबाट पनि अमेरिकी भन्सार शुल्क छल्न ट्रान्सशिपमेन्ट हुन सक्ने सम्भावना औँल्याएका छन्। आगामी व्यापार सम्झौतामा यस्तो अभ्यास गर्ने साझेदार मुलुकलाई दण्डित गर्ने कडा प्रावधान राखिने उनको भनाइ छ।

ट्रम्प प्रशासनले अमेरिकी उद्योगको संरक्षण र आयात नियन्त्रणका लागि विभिन्न मुलुकमाथि उच्च भन्सार शुल्क लगाउँदै आएको छ। तर यही नीतिले अमेरिकी अर्थतन्त्रमा अर्को दबाब पनि सिर्जना गरिरहेको छ। उच्च भन्सारका कारण आयातित वस्तुको लागत बढ्दा अमेरिकी उपभोक्तामाथि महँगीको भार थपिन सक्ने जोखिम कायमै छ।

अमेरिकी व्यापार घाटामा भने केही सुधार देखिएको छ। चालु वर्षको अहिलेसम्म अमेरिकाको व्यापार घाटा ३७१ अर्ब डलर रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८९ अर्ब डलर कम हो।

यसरी हेर्दा अमेरिकाले भन्सार शुल्क बढाएर आयात नियन्त्रण गर्ने नीति लिएको भए पनि तेस्रो मुलुकमार्फत हुने व्यापारले त्यसको प्रभावलाई चुनौती दिइरहेको देखिन्छ। अब अमेरिकी प्रशासनको प्राथमिकता शुल्क बढाउनेभन्दा पनि सामानको वास्तविक उत्पत्ति पत्ता लगाउने, ट्रान्सशिपमेन्ट नियन्त्रण गर्ने र राजस्व चुहावट रोक्ने दिशातर्फ केन्द्रित हुने संकेत देखिएको छ।

2