काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीका रूपमा रहेको नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले १८औँ संस्करणको प्रदर्शनीका लागि स्टल बुकिङ खुला गरेको हो ।
नाडाका अनुसार प्रदर्शनीका लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्म खुला रहनेछ । प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाको सहभागिता रहनेछ ।
नयाँ उत्पादन र प्रविधिको प्रदर्शन
नाडा अटो शो उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकका लागि नयाँ उत्पादन, प्रविधि र सेवाहरू सार्वजनिक गर्ने प्रमुख व्यावसायिक मञ्चका रूपमा स्थापित हुँदै आएको छ । यसपटक पनि विभिन्न ब्रान्डले नयाँ मोडल र प्रविधि प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
ईभी बजारमा विशेष चासो
नेपालको अटोमोबाइल बजार पछिल्लो समय विद्युतीय सवारीसाधनतर्फ तीव्र रूपमा विस्तार भइरहेका बेला आयोजना हुन लागेको प्रदर्शनीमा ईभी, नयाँ प्रविधि र स्मार्ट मोबिलिटी मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ । यसले उपभोक्ता, व्यवसायी र लगानीकर्तालाई बजारमा भित्रिरहेका नयाँ विकल्पबारे प्रत्यक्ष जानकारी दिनेछ ।
हजारौँ दर्शक सहभागी हुने अपेक्षा
नाडाका अनुसार प्रदर्शनीमा हरेक वर्षझैँ यसपटक पनि हजारौँ सर्वसाधारणसँगै अटोमोबाइल व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र सञ्चारकर्मीको सहभागिता रहनेछ ।
स्टल बुकिङ, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक जानकारी व्यवस्थापक कम्पनीमार्फत उपलब्ध हुने नाडाले जनाएको छ । इच्छुक कम्पनी तथा संस्थालाई समयमै स्टल बुकिङ गरी सहभागी हुन नाडाले आग्रह गरेको छ ।
